समयमा वर्षा नहुँदा पूर्वमा धानबाली सुक्यो


लामो समयदेखि वर्षा नहुँदा मोरङमा धानबाली सुक्न थालेको छ । धानबाली सुक्न थालेपछि उत्पादनमा ह्रास आउने सम्भावना देखिएको छ ।
सिँचाइको उचित व्यवस्था तथा वर्षा नहुँदा धान बाली सुक्न थालेको छ । जमीनमा चिरा पर्न थालेको, ब्याड सुक्न थालेको र उन्नत जातको धानबाली रोप्ने समय बित्न थालेकाले धानबालीको उत्पादनमा कमी हुने सम्भावना देखिएको हो ।
साउनको दोस्रो साता वितिसक्दा पनि खेतीयोग्य ७८ हजार हेक्टर जग्गामध्ये ४९ हजार ५०० हेक्टर अर्थात ५५ प्रतिशत जग्गामा मात्र रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालका प्रमुख मनोजकुमार यादवले बताउनुभयो ।
मोरङको रतुवामाइ, सिजुवा, केरावारी, बेलवारी र लेटाङ क्षेत्रमा ५० देखि ९० प्रतिशतसम्म रोपाइँ सम्पन्न भएको छ । जिल्लाको दक्षिणी भेगको रंगेली, धनपालथान, बुधनगर, थलहाका साथै कानेपोखरी, होक्साबारी, हरैचा र बाहुनीलगायत क्षेत्रमा १५ मात्र प्रतिशत रोपाइँ भएको छ । यहाँ ६७ हजार हेक्टर जग्गामा सिँचाइको सुविधा पुगेको छ । वर्षा नभएकाले नहरको पानीमाथि चाप बढेको छ । सो कारण कतिपय ठाउँमा नहरको पानीबाट बढीमा एक किलोमिटर क्षेत्रसम्म मात्र सिँचाइ गर्न सकिन्छ । भित्रिभागमा सिँचाइ गर्न सकिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार