पर्यटकको गन्तव्यस्थल बन्दै रामपुरको ‘शान्तिदीप पार्क’

प्रकृतिले नै उपहारस्वरुप दिएको पाल्पा रामपुरको ‘शान्तिदीप पार्क’ अहिले पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । पार्कलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि यो क्षेत्र पर्यटकको गन्तव्यस्थल बन्न थालेको हो ।
कालीगण्डकी नदी नजिकै रहेको रामपुर नगरपालिका–४ खोप्टारमा रहेको रानीवन तथा वडवान सामुदायिक वन क्षेत्रभित्र पर्ने यस पार्कमा हरियाली घाँसे मैदान र वनजंगलले यसको सुन्दरता बढाउनुका साथै पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ ।
अति सुन्दर, शान्त र रमणीय वातावरण, वनजंगल, खोलानाला, घाँसेमैदान यी अथाह प्राकृतिक रुपमा आफैँ मिलेको यस शान्तिदीप पार्कमा पुग्ने जो कोही पनि प्रकृतिसँग रमाउन पुग्छन् । पार्कभित्र निर्मित चौतारीमा बसेर यहाँ आउने पर्यटक उत्तर दिशाबाट बगिरहेको पवित्र कालीगण्डकी नदी, दक्षिण दिशाबाट उत्तरतर्फ पार्कलाई घेरेर बगेको अधेँरी खोलाको दृश्य, डाँडाकाँडासहितको भौगोलिक भुवनोट, कालीगण्डकी करिडोरले घेरेको यस क्षेत्रको सुन्दर, मनमोहक वातावरणमा रम्न र रमाउन आउनेको जमात बढ्दो छ ।
पछिल्लो समय दिनहुँ ५० देखि १०० जनाको हाराहारीमा पर्यटक प्रकृतिसँग रमाउन यहाँ आउने गर्छन् । पार्क क्षेत्रभित्र कतै निम्न, कतै मध्यम र कतै उच्च भूभाग रहेकाले पनि विशेष गरी यो क्षेत्र प्रेम जोडीका लागि एकान्तको स्थल पनि बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार