हिमालयन ट्राभल मार्ट उपलब्धिमूलक

काठमाडौंः नेपालमा आयोजना गरिएको प्रथम हिमालयन ट्राभल मार्टले(अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन) अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनलाई प्रवद्र्धन गर्न ठूलो सघाउ पुगेको आयोजक संस्था प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले बताएको छ ।
सो सम्मेलनको उपलब्धि र आयव्ययका बारेमा जानकारी गराउने उद्देश्यले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको पर्यटकीय उत्पादनबारेमा जानकारी गराउन सम्मेलन कोशेढुङ्गा सावित भएको पाटाका अध्यक्ष सुमन पाण्डेले बताउनुभयो ।
‘नेपाल हिमालय प्रवेशद्वार’ भन्ने मूल नाराका साथ नेपालका सम्पूर्ण हिमालय क्षेत्रका पर्यटकीय सामग्री पहिचान गराउन गत जुन १ देखि ४ तारिखसम्म राजधानीमा गरिएको सो मार्टमा ५३ वटा मुलुकका २२५ जना पर्यटन व्यवसायी, ब्लर्गस, ट्राभल क्रेता र विक्रेता, पर्यटनविज्ञ र पत्रकारको सहभागिता रहेको थियो ।
सो कार्यक्रमबाट कम खर्चमा निजी क्षेत्रको सहयोग र सहभागितामा उपलब्धिमूलक कार्यक्रम सम्पन्न भएको अध्यक्ष पाण्डेले दाबी गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ट्राभल मार्टले नेपाली पर्यटन व्यवसायीलाई हौसला प्रदान गरेको र पर्यटन उद्योगमा सकारात्मक परिणाम देखापरेकाले आगामी वर्ष पनि यस्ता कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
सो कार्यक्रममा रु सात करोड ३८ लाख खर्च भएको र त्यसमा रु एक करोड ९४ लाख पर्यटन बोर्डबाट खर्च व्यहोरिएको बाँकी रकम निजी क्षेत्रका होटल, एयरलाइन्स, बीमा, बैंकबाट सहयोग प्राप्त भएको जानकारी प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार