मनकामना मन्दिरको जीर्णोद्धार अन्तिम चरणमा ।

भूकम्पपछि जगैदेखि भत्काएर जीर्णोद्धार भइरहेको प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठका अनुसार दुई वटा छाना रहने मन्दिरको माथिल्लो छाना छाउने काम भइरहेको छ भने मन्दिर जीर्णोद्धारको काम ८५ प्रतिशत सकिएको छ।

जीर्णोद्धार समितिको हालैको बैठकले मन्दिरको छानामा सुनको जलप लगाउन आवश्यकता अनुसार सुन खरिद गर्ने निर्णय गरेको छ। गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, सुरक्षा निकायका प्रमुखहरु र जीर्णोद्धार समितिको बैठकले पूरानो मन्दिरको छानामा साढे नौ के.जी. जलप लगाइएको बताउँदै अहिले पनि सोही परिमाणमा केही बढाएर सुनको जलप लगाउने निर्णय भएको हो।

संयोजक श्रेष्ठ भन्छन्, ‘कति किलोग्राम सुन्न किन्ने निर्णय गरेका छैनौं, आवश्यकता र पुरातत्वका इञ्जिनियरको आकलनअनुसार सुन किन्छौ। तर त्यसअघि पुनःनिर्माण सकिएको बौद्धनाथका कालीगढलाई भेटेर आवश्यक परामर्श लिने तयारी हाम्रो छ। छानामा कत्तिको बाक्लो जलप लगाउने हो सोही अनुसार सुन खरिद दर बढाउनुपर्ने हुन्छ।’

‘तामाको छानामा जति बाक्लो जलप लगाउन सक्यो उत्ति धेरै टिक्छ भन्ने छ,’ श्रेष्ठले भने, ‘जतिसक्यो बाक्लो जलप लगाउँछौं। मन्दिरको संरचना निर्माण करिब अन्तिम चरणमा पुगेको भएपनि छानामा जलप लगाउन पाँच÷छ महिना लाग्ने देखिएको छ।’ यसअघि सात किलो सुन खरिद गरी बैंक लकरमा राखिएको समितिले जनाएको छ।

मन्दिर जीर्णोद्धार गर्न सरकारले चार करोड रुपैँया दिएको थियो भने भक्तजनहरुबाट स्वेच्छिक रुपमा चन्दा संकलनबाट छ करोड रुपैँया उठेको छ। चन्दा संकलनको कार्य अहिले पनि जारी नै छ। मन्दिर जीर्णोद्धार सम्पन्न गर्दा करिब १२ करोड रुपैँया लगानी लाग्ने देखिएको छ। यस्तै मन्दिर जीर्णोद्धारको काम हुँदा पनि पूजाआजा नरोकिने गरी व्यवस्था मिलाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार