केन्द्र र प्रदेशको चुनाव एकैदिन सम्भव -अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र प्रदेशको निर्वाचन एकैदिनमा गर्न सम्भव रहेको बताउनुभएको छ । प्रेस सेन्टर रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुवै तहको निर्वाचन मंसिरको पहिलो साताभित्र हुन सक्ने सम्भावना रहेको छ भन्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले प्रदेश र केन्द्रको चुनाव एकैदिन गराउन सम्भव हुने र यसका लागि कुनै संवैधानिक अप्ठ्यारो नपर्ने उल्लेख गर्दै एउटै मतपत्र र बाकस बनाएर एकैदिन केन्द्र र प्रदेशको निर्वाचन गराउन सकिन्छ भन्नुभयो ।

केन्द्र र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने विभिन्न विकल्पमा दलबीच छलफल भइरहेको र छिट्टै सहमतिमा पुगेर निर्वाचन घोषणा हुने बताउँदै उहाँले प्रत्यक्षका उम्मेदवारले प्राप्त गरेका मतलाई पनि समानुपातिकको मान्ने, धेरै मतदाता भएका मतदान केन्द्रमा बुथ संख्या थप्ने र एकै चरणमा निर्वाचन गर्न सकिने विकल्पहरुमा छलफल भइरहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले केन्द्र र प्रदेशको एकैदिन निर्वाचन भयो भने चुनाव खर्च न्यून हुने बताउँदै नेपालको सन्दर्भमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक हुने धारणा व्यक्त गर्नुभयो ।

पार्टी संगठन कमजोर र फुटका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा प्राप्त गर्न नसिकएको स्वीकार गर्दै उहाँले परिवर्तन र अग्रगामी निकासको पक्षमा पार्टी हुँदाहुँदै पनि स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको विषयमा पार्टीमा आन्तरिक छलफल भइरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार