दिक्तेल–हलेसी सडक पहिरोको उच्च जोखिममा ।


मध्यपहाडी लोकमार्गमा पर्ने निर्माणाधीन दिक्तेल–हलेसी सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ । कालोपत्रेका लागि सडक फराकिलो पार्ने क्रममा स्काभेटर प्रयोग गर्दा सडकदेखि माथिल्लो भागसमेत खलबलिएपछि ठाउँ-ठाउँमा पहिरो खस्न थालेको हो ।

कच्ची सडकको विभिन्न स्थानमा पहिरो झरिरहँदा जोखिम मोलेर गाडी गुडाउनुपर्ने अवस्था छ । सडकदेखि माथिल्लो भागबाट झरेको पहिरोले हाल निर्माणाधीन सडक आसपासको नाली पुरिनुका साथै वर्षाको पानी सडकबाटै बग्दा सडक हिलाम्मे भएको छ ।

दिक्तेलदेखि हलेसीसम्म ४२ किलोमिटर लम्बाइ रहेको उक्त सडकमा साना ठूलागरी धेरै ठाउमा पहिरो खसेर थुप्रिएको छ । साथै सडकका विभिन्न ठाउँमा ढुंगा तथा बालुवा थुपारिएका कारण सडक साँघुरो बनेको छ । सडकमा थुप्रिएको पहिरो नहटाउँदा यातायात सञ्चालन गर्न कठिन भएको यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । अघिल्लो वर्षायाममा बन्द रहेको उक्त सडक केही स्तरोन्नति गरेपछि यसवर्ष भने दुःखका साथ यातायात सञ्चालन हुँदै आएको र एसियाली विकास बैंकको करिब रु ७५ करोडको लागतमा सडक कालोपत्रे पनि गर्न थालिएको छ ।

तीन भागमा विभाजन गरेर काम थालिएको उक्त सडकको पहिलो खण्ड हलेसीदेखि बिजुलेसम्म १२ किलोमिटर सडक सूर्य कन्ट्रक्सनले जिम्मा लिएकामा हालसम्म चार कलोमिटरमात्र कालोपत्रे गरेको छ । यस्तै, बिजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर र हुर्लङदेखि दिक्तेलसम्मको १२ किलोमिटर सडक नागार्जुन कन्ट्रक्सनले जिम्मा लिएको छ । पछिल्लो समय लगातारको वर्षापछि झरेको पहिरोले उक्त सडक खण्डमा निर्माणाधीन गाह्रो र नाली पुरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार