बिम्स्टेक मन्त्रिस्तरीय बैठकको तयारी पूरा,

समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरुपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को १५ औँ मन्त्रिस्तरीय बैठकको सम्पूर्ण तयारी पूरा भएको छ ।

व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संसाधन, पर्यटन, कृषि, पूर्वाधार र यातायातजस्ता क्षेत्रमा सहायता परियोजना कार्यान्वयन गरी सदस्य मुलुकको द्रुत आर्थिक विकासका निम्ति २० वर्षअघि स्थापना भएको दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको आजदेखि हुने मन्त्रिस्तरीय बैठकको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रिस्तरीय बैठकअघि हुने उक्त संगठनको सदस्य मुलुकका विदेश परराष्ट्र बाह्य मामिला मन्त्रालयका उच्च अधिकारी (एसओएम)को १८औँ बैठकमा भाग लिन केही देशका सचिव र अन्य राष्ट्रका उच्च अधिकारी आजै अपराह्न राजधानी आइपुग्नुभएका परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका प्रमुख मणिप्रसाद भट्टराईले बताउनुभयो ।

एसओएममा भाग लिन भारतको बाह्य मामिला मन्त्रालयका सचिव प्रीति शरण, भूटानको विदेश मन्त्रालयका सचिव सोनाम छोङ, बंगलादेशका विदेश सचिव मोहम्मद शहिदुल हक, म्यान्माको परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय संगठन तथा आर्थिक विभागका महानिर्देशक क्वा मो तुन, श्रीलङ्काको विदेश मन्त्रालयका अतिरिक्त सचिव ग्रेस आशिर्वाथन र थाइल्याण्डको विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक मामिला विभागका नायब महानिर्देशक इकसिरी पिन्टारुची काठमाडौँ आइपुग्नुभएको जानकारी उहाँले दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अपराह्न मन्त्रिस्तरीय बैठकको उद्घाटन गर्नुहुने छ । बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुनाकासाथै बैठकले बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको चौथो शिखर सम्मेलनको मिति टुंगो लगाउने अपेक्षा गरिएको छ ।

मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार