प्रदेशमा होटल उद्योगको विकासबारे सरोकारवालाहरुको छलफल

काठमाडौंः मुलुक संघीयतामा प्रवेश गरेपछि प्रदेशमा होटल क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले होटल संघ नेपाल (हान)ले सम्बन्धित क्षेत्रका व्यवसायीसँग छलफल शुरु गरेको छ । प्रदेशअन्तर्गत रहेका होटल उद्योगको विकास र विस्तारका लागि संघलाई पनि प्रादेशिक संरचनामा लैजान र उसको भूमिकालाई थप प्रभावकारी बनाउन छलफल थालिएको हो ।
प्रदेश नं ५ को नेपालगञ्ज (बाँके)मा होटल क्षेत्रमा लगानीको सम्भावना र व्यावसायिक दायित्वबारे क्षेत्रीयस्तरमा अन्तरक्रिया गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिनुभयो । प्रदेशमा आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्र भएको र होटल व्यवसायबाट चाँडो प्रतिफल आउने भएकाले ती क्षेत्रमा लगानीको अवस्था के छ र सरकारको भूमिका कस्तो हुने हो भन्नेबारे छलफल भएको उहाँले बताउनुभयो ।

संघले विधान संशोधन गरेर प्रादेशिक संरचनाअनुरुप बनाउने आफ्नो योजना र लगानीको अवसरबारे सरकारलाई अवगत गराइसकेको हानले जनाएको छ । बाँके, बर्दियालगायत क्षेत्रका होटल तथा पर्यटन व्यवसायीको भेलाबाट होटल स्नेहाका सञ्चालक असितशम्शेर जबराको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय होटल सङ्घ नेपालगञ्ज तदर्थ कार्यसमिति गठन गरिएको संघले विज्ञप्तिमार्फत जनाएको छ ।
उक्त भेलामा महासचिव शाहले होटल उद्योगको सम्भावना र चुनौतीका विषयमा प्रकाश पार्नुभयो भने कोषाध्यक्ष सुनिल शाक्यले वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै हालको विमानस्थल व्यवस्थापनको सुधारमा जोड दिनुभयो । सङ्घको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २४ गते सङ्घका अध्यक्ष अमरमान शाक्यको अध्यक्षतामा नेपालगञ्जमा सम्पन्न भएको थियो ।
होटलहरुको छाता संगठन होटल संघ नेपालले विगत पाँच दशकदेखि होटल तथा समग्र पर्यटन उद्योगको विकास र उत्थानका लागि सक्रिय भूमिका खेल्दै आएको छ । यसैबीच हानले सीमा पर्यटनको विकासबारे प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गर्नुअघि उहाँलाई भेटेर जानकारी गराउने भएको छ । हानका अनुसार ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा) लगायतका संस्थासँग भोलि शुक्रबार छलफल गरी नेपाल–भारत पर्यटन प्रवद्र्धन बारेको अवधारणा पत्र प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम छ । सरकारी विवरणअनुसार अहिले मुलुकभर एकहजार दुई सय भन्दा बढी होटलहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार