पचासी वर्ष पार गरेका वृद्धवृद्धाहरुलाई सम्मान

पर्वतः कुस्मा नगरपालिका–१४ ले वडाभित्रका वृद्धालाई सम्मान गरेको छ । पर्वतको कुश्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्कमा आयोजित एक कार्यक्रमबीच ८५ वर्ष उमेर पुगेका वडाका ५१ जना वृद्धवृद्धालाई सम्मान गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले वृद्धवृद्धालाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उहाँले सम्मान कार्यक्रममा वृद्धलाई तिरस्कार गर्ने संस्कारलाई अन्त्य गर्दै सम्मानित नागरिकका रुपमा स्थापित गराउन सम्मान कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

आफ्ना बाबुआमालाई सम्मान गरेर आफूलाई पनि सम्मानको लायक बनाउन सकिने बताउँदै प्रमुख पौडेलले पुराना पुस्ताको अनुभवबाट नयाँ पुस्ताले धेरै सिक्न जरुरी भएको बताउनुभयो । उहाँले राज्य पुनःसंरचनापछि स्थानीय तहमा अधिकार आएका कारण अब मुलुकका हरेक क्षेत्रमा परिवर्तनको अनुभव हुँदै जाने बताउनुभयो ।

प्रेस चौतारी नेपालका निवर्तमान वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माले वृद्ध सम्मान जस्तै नागरिकका हरेक सुख–दुःखमा साथ दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा कुस्मा नगरपालिका–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले कुस्मा नगरपालिकाका प्रमुखले सबै अधिकार आफूमा निहित गर्ने र निरंकुश बन्ने मनसाय राखेका कारण सबै विकास निर्माणका काम अवरुद्ध हुन पुगेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार