सौराहामा पर्यटकको चहलपहल बढ्यो

पर्यटकीय स्थल चितवनको सौराहामा पर्यटकको चहलपहल शुरु भएको छ । पर्यटकको आगमन शुरु भएकै बेला बाढी आएपछि डुवानमा परी अस्तव्यस्त भएको सौराहामा विस्तारै पर्यटकको चहलपहल शुरु भएको हो ।
साउन २९ गते राति बाढीले अधिकांश होटल डुबानमा परेपछि त्यहाँ रहेका पर्यटकलाई उद्धार गरिएको थियो । डुबानका कारण होटलमा १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्यांक छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहाका ११० वटा होटलमध्ये आधाभन्दा बढी पुनः सञ्चालनमा आएका छन् । राप्ति नदी छेउमा नै रहेका १२ वटा रेस्टुरेन्ट पूर्णरुपमा क्षति पुगेको थियो भने अन्यमा आंशिक क्षति भएको थियो । आंशिक प्रभावमा परेका धेरैजसो होटल मर्मत सम्भार गरी पुनः सञ्चालनमा आएको उहाँले बताउनुभयो ।
बाढी गएका दिन सौराहामा लगभग ६००  पर्यटक थिए । त्यसयता दुई सातासम्म पर्यटक घटे पनि । एकदुई दिन यता  पर्यटकको संख्या दैनिक एक सयजना नाघेको घिमिरेले बताउनुभयो । उक्त समयमा भएका बुकिङ रद्द हुँदा चार करोडभन्दा बढी नोक्सान भएको बताइएको छ । आउँदो साताबाट क्रमशः पर्यटक बढ्दै जाने अपेक्षा व्यवसायीले गरेका छन् ।
होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले कोठामा पानी नपसेकाले बाढी गएको तेस्रो दिनबाटै होटल सञ्चालनमा आएको बताउनुभयो । सौराहाका १५ वटा होटलले बाढी गएको तीन दिनपछि नै सेवा शुरु गरेका थिए ।
पर्यटकको चहलपहल शुरु भएपछि सौराहामा हात्ती, जिप, डुंगा सफारी शुरु भइसकेको छ । भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिका कारण हुने अवरोधले सौराहामा पर्यटन क्षेत्र प्रभावित भएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायतका जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार