मदन पुरस्कार साहित्यकार कँडेललाई र जगदम्बा–श्री वात्स्यायनलाई

काठमाडौंः मदन पुरस्कार गुठीले विसं २०७३ को मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार विजेताको घोषणा गरेको छ ।
गुठीको साधारणसभा बैठकले विसं २०७३ मा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेख्नुभएको पद्य काव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले समसामयिक विषय र विसंगतिलाई कार्टुनमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरेबापत दुर्गा बराल (वात्स्यायन) लाई २०७३ सालको जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव दीपक अर्यालले जानकारी दिनुभयो ।
“विसं २०७३ मा प्रकाशित भई गुठीलाई प्राप्त ११५ पुस्तकमध्ये ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा’, ‘छाउघर’, ‘तपन’, ‘दोहाको सीधा उडान’, ‘धृतराष्ट्र’, ‘प्रतिनायक’, ‘म स्त्री अर्थात आइमाई’, ‘शुक्रराज शास्त्रीको चस्मा’ र ‘सगरमाथाको गहिराइ’लाई उत्कृष्ट नौ पुस्तकका रुपमा छनौट गरिएको थियो”, अर्यालले जानकारी दिनुभयो ।
पुरस्कार असोजको शुक्ल द्वितीया अर्थात् घटस्थापनाको भोलिपल्ट प्रदान गरिनेछ । विसं २०१२ मा जगदम्बा राणाले मदन पुरस्कारको स्थापना गर्नुभएको थियो । विसं २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र विज्ञान विधामा डा. बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ पुस्तकलाई प्रदान गरिएको थियो ।
विसं २०४५ मा जगदम्बाको निधन भएपछि उहाँको सम्झनामा पनि जगदम्बा–श्री पुरस्कार स्थापना गरिएको हो । दुवै पुरस्कारको राशि रु दुई÷दुई लाख रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार