चलचित्र ‘ए मेरो हजुर २’ तान्दै दर्शक


शुक्रबारदेखि प्रदर्शनमा आएको प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर २’ ले प्रदर्शनको शुरुवातीमा दर्शकको भीड लागेको छ ।
देशभर ९० भन्दा बढी हलमा प्रदर्शनमा आएको चलचित्रका अधिकांश हल करिब करिब भरिएका छन् । आइतबार पनि चलचित्रले दर्शकको राम्रो साथ पाएको हल संचालक तथा दर्शकको भिडको प्रतिक्रियाले थाहा हुन्छ ।
‘म यस्तो गीत गाउँछु,’, ‘प्रेम गीत २’ जस्ता प्रेमकथाका सफल चलचित्रपछि नेपाली सिने जगतमा भित्रिएको ‘ए मेरो हजुर २’ ले शुरुवाती प्रदर्शनमा राम्रो व्यापार गरेको छ । “आक्रामक व्यापार भइरहेको छ, राजधानी काठमाडौँ बाहिरको वितरणको जिम्मा लिएका केदार पराजुलीले बताए, ‘दुई दिनमा करिब करिब रु दुई करोड व्यापार भएको छ ।’
युवा रोमान्सलाई कथामा उनेर १० वर्षपछि सिक्वेलमा बनेको पहिलो चलचित्र ‘ए मेरो हजुर’की तत्कालीन नायिका झरना थापाको डेब्यू निर्देशन रहेको उक्त चलचित्रले सार्थक बालप्रेमलाई मुख्य विषय बनाएको छ ।

सच्चा प्रेम जुनसुकै अवरोधले पनि रोक्न सक्दैन भन्ने कुरा गौरवसँगै बिहे हुनै लाग्दा पनि मायाँ र प्रेमको मिलनले उजिल्याएको छ । विभिन्न सामाजिक विसंगतिलाई समेत नंग्याउने प्रयासले चलचित्र जीवन्त बन्न पुगेको छ । कथाले समलिङ्गीप्रतिको सामाजिक नकारात्मक दृष्टिकोणलाई तिखो प्रहार गरिएको छ । देशको भेषभूषा र संस्कृतिको संवद्र्धनमा एक कदम अगाडि छ ।
बेलाबेलामा ‘ए मेरो हजुर’को टाइटल गीतले दिवंगत नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झाइरहन्छ । श्रीधर्मेन्द्र उनको फ्यान भएकाले स्कुल बसभरि पोस्टर टाँसेर १० वर्षअघिको फिल्मलाई जीवन्त बनाउन खोजिएको छ ।
तर माया र प्रेमको परिवारका बारेमा चलचित्र मौन छ । नायकमाथि हाबी बनेका ‘जे’ अर्थात् सलोन बस्नेत कमेडी कलाकारमा देखिएका छन् । डेब्यू गरेका नायक सलिनमान बनिया (प्रेम)को अभिनयमा अझै उत्कृष्ट हुने ठाउँ छाडेका छन् । तर साम्राज्ञी राज्यलक्ष्मी शाहको यो दोस्रो फिल्म भए पनि उनको अभिनय दर्शकले मन पराएका छन् ।
चलचित्रमा दर्शकले सोचेजस्तो प्रेममा उतारचढाव छैन । सानो द्वन्द्वको दृश्य छ । मोड बिनाको प्रेम सच्चा छ । दर्शकमा कौतुहलता ल्याउने कथा छैन । शुक्रबारको पहिलो सो हेर्नुभएकी समीक्षा आलेले फिल्म राम्रो बनेको बताउनुभयो ।
सच्चा प्रेमको प्रतीकका रुपमा ‘ए मेरो हजुर २’लाई लिन सकिन्छ । बालापनको प्रेम बीचमा हराए पनि अन्ततः मिलन हुनपुग्छ ।
सुहाना इन्टरटेनमेन्टले तयार पारेको चलचित्र सुनिल थापाले बनाएका हुन् । हरिहर अधिकारीको कथामा अन्य कलाकार अम्बर सुवेदी, अनुराग कुँवर, बुद्धि तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राईको अभिनय छ । सामिप्यराज तिमिल्सिनाको पटकथा छ । प्रेम र मायाँको भूमिकामा सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाह छन् । जे को भूमिकामा नायक सलोन बस्नेत छन् ।
यस्तो थियो पहिलेको ‘ए मेरो हजुर’
आखिर दुवै चलचित्र प्रेम कथामै आधारित छ । तर पहिलेको तुलनामा २ को कथावस्तु फितलो छ । पहिलेको चलचित्रमा माया पाउन विभिन्न ठक्कर आएका छन् । शिव रेग्मीको निर्देशक सशक्त छ । सच्चा प्रेम पाएरै छाड्छ भन्ने उदाहरण दुइटैमा छ । ‘ए मेरो हजुर’मा ईश्वर बनेका दिवंगत नायक श्रीकृष्ण श्रेष्ठ र श्रद्धा बनेको नायिका झरना थापाको मुख्य अभिनय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार