पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्णः प्रमुख जोशी


मुलुकको पर्यटन प्रवद्र्धनको क्षेत्रमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो ।
पर्यटन पत्रकार संघ (जाट) नेपालको सातौँ वार्षिक साधारण सभाका अवसरमा प्रमुख जोशीले जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्र्याउन सकिने र त्यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सञ्चारमाध्यमले भूमिका खेलेको भएपनि पूर्वाधार अभावका कारण सोचेजस्तो पर्यटक नेपाल आउन नसकेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापामगरले नेपालमा पर्यटकीय सम्भावना रहेका स्थान अत्यधिक रहेकाले यसलाई चिनाउनका लागि पर्यटन पत्रकार सक्रिय हुनुपर्ने बताउनुभयो ।
संघका संस्थापक अध्यक्ष स्व हरिराज जोशीको नाममा स्थापना भएको ‘हरिराज जोशी पर्यटन पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार राजु सिलवाललाई प्रदान गरिएको थियो । सिलवालले आफूले पाएको पुरस्कारमा केही रकम थप गरी रु १० हजार रेडियो नेपालका बिरामी पत्रकार वासुदेव मुनाललाई प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार