आउदो कार्तिकसम्ममा सोलुखुम्बुलाई खुला दिशामुक्त घोषणा गर्न विभागको परिपत्र ।

खानेपानी तथा ढल निकास विभागले सोलुखुम्बुलाई आउदो कार्तिकसम्ममा खुला दिशामुक्त घोषणा गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । सोलुखुम्बु सहित सुनसरी, सिन्धुली, रुपन्देही, बाँके र कैलालीलाई कार्तिक महिनाभित्र खुला दिशामुक्त घोषणा गर्ने व्यवस्था मिलाउन विभागले अनुरोध गरेको हो । यी जिल्लाहरुमा २ प्रतिशत भन्दा कम घरधुरीमा मात्र चर्पी बनाउन बाँकी रहेकाले जनचेतना, समन्वय लगायत स्थानीयस्तरबाट गर्न सकिने क्रियाकलापहरु अवलम्बन गरी सबै घरधुरीमा चर्पीको सुनिश्चितता गर्न अनुरोध गरेको हो ।

यस्तै सत प्रतिशत घरमा चर्पी निर्माण भई प्रयोग भईरहेका जिल्लाहरुलाई तत्काल खुला दिशामुक्त घोषणा गर्ने व्यवस्था मिलाउन र भोजपुर, संखुवासभा, पाल्पा, डोल्पा, हुम्ला, मुगु, दार्चुला र कञ्चनपुरका सबै घरमा चर्पी निर्माण भएकाले क्षेत्रीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मार्फत अनुगमन तथा प्रमाणीकरणको व्यवस्था मिलाउन जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरुलाई परिपत्र गरेको हो ।

सरसफाइ गुरुयोजना २०६८ ले खानेपानी तथा ढल निकास विभागलाई राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सदस्य तोकेको छ भने वातावरणीय सरसफाइ शाखाका प्रमुख, सचिवालयको सदस्य सचिव रहने व्यवस्था छ ।

अहिलेसम्म ४१ जिल्ला खुला दिसामुक्त भइसकेका छन् । सरकारले सन् २०१७ भित्र सबै नेपालीको घरमा सरसफाइको आधारभूत सुविधा पु-याउने राष्ट्रिय लक्ष्य राखेको छ । खानेपानी तथा ढल निकास विभागका अनुसार अहिलेसम्म ९२ प्रतिशत घरमा सरसफाइको आधारभूत सुविधा पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार