राजस्व संकलन २२ प्रतिशतले वृद्धि

आव २०७४/०७५ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य रु ३६ अर्ब ६७ करोड ९१ लाख ३९ हजार रहेकामा रु ३५ अर्व २७ करोड ३ लाख ४९ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ ।

गत वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ । शीर्षकगत रूपमा हेर्दा आयकरतर्फ करिब रु १४ अर्व २३ करोड , मूल्य अभिवृद्धि कर रु १२ अर्ब ९० करोड र अन्तःशुल्कतर्फ रु सात अर्ब ७३ करोड संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ ९२ प्रतिशत, मूल्यअभिवृद्धि करतर्फ ९७ प्रतिशत र अन्तशुल्कतर्फ १०५ प्रतिशत हो ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः करिब रु १५ करोड ६६ लाख र रु २५ करोड ४ लाख संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तःशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २२ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३ प्रतिशत छ । आन्तरिक राजस्व विभागलाई आव २०७४/७५ का लागि करिब तीन खर्ब राजश्व संकलन लक्ष्य तोकिएको छ ।

त्यस्तै काठमाडौंस्थित आन्तरिक राजस्व विभागअन्तर्गतका सबै कार्यालय प्रमुखले आ-आफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार