ढाका टोपी लगाएर पर्यटकको भव्य स्वागत

विश्व पर्यटन दिवसका अवसरमा चितवनको सौराहामा पुगेका पर्यटकलाई सांस्कृतिक झाँकीसहित  भव्य स्वागत गरिएको छ ।
पहिलोपटक सौराहा आएका पर्यटकलाई नेपाली ढाका टोपी, टीका तथा खादा पहि¥याएर स्वागत गरिएको क्षेत्रीय होटल संघ चितवनका प्रथम उपाध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार पर्यटक बसपार्कबाट सौराहाको हात्तीचोकसम्म उनीहरुको स्वागतार्थ सांस्कृतिक झाँकीसहित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पर्यटन व्यवसायीले ¥यालीसमेत निकालेको थियो । थारु समुदायका विभिन्न झाँकी तथा नृत्यमा पर्यटक रमाएका थिए ।
नेपालीसँगै भारतीय तथा तेस्रो मुलुकका १५ भन्दा बढी पर्यटकलाई यसरी स्वागत गरिएको हो । स्थानीय बासिन्दाको स्वागतमा पर्यटक खुशी भएका थिए । विश्व पर्यटन दिवसका अवसरमा पर्यटक बसपार्कको सरसफाइ गरिएको थियो ।
पर्यटन दिवस मूल समारोह समिति सौराहाको आयोजनामा सरसफाइ गरिएको हो । समितिका सदस्य जीतु तामाङका अनुसार सरसफाइ कार्यक्रमसँगै बसपार्कमा फोहर राख्ने ढ्वाङसमेत राखिएको छ ।
कार्यक्रममा क्षेत्रीय होटल संघ, क्षेत्रीय रेवान सौराहा, पर्यटन प्रहरी, नेचर गाइड एसोसिएसन, वर्ड एजुकेशन सोसाइटी, बाघ संरक्षण समिति, बाघमारा वन तथा मृगकुञ्ज उपभोक्ता समितिलगायत संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
सो कार्यक्रमका संयोजक तथा क्षेत्रीय होटल संघका प्रथम उपाध्यक्ष दीपक भट्टराईका अनुसार चितवनको रत्ननगरस्थित सौराहामा बाढीपछि ठप्प भएको पर्यटक आगमन अहिले विस्तारै बढ्न थालेको छ । सौराहामा ११० भन्दा बढी होटलमा दैनिक दुई हजार ८०० पर्यटक बस्ने क्षमता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार