पर्यटक आगमन झन उत्साहप्रद ।

भूकम्पपछि विदेशी पर्यटक अगमन स्वात्तै घट्ने आशंका थियो तर त्यस्तो भएन । विदेशी सञ्चारमाध्यममा नेपालका पर्यटकीय गन्तब्यबारे निरन्तर रुपमा सकारात्मक प्रचारप्रसार हुनाले पर्यटकको संख्या वृद्धि भएको हो ।

अध्यागमन विभागका अनुसार यो वर्षको आठ महिनामा पाँच लाख ६६ हजार दुई सय २१ पर्यटक नेपाल भित्रिएका छन् । २०१६ को आठ महिनाको अवधिमा चार लाख २४ हजार ६८ पर्यटक भित्रिएका थिए। विगतको तुलनामा यो वर्ष ३.५ प्रतिशतले बिदेशी पर्यटक आगमनमा वृद्धि भएको हुँदा सन् २०१८ मा १० लाख पर्यटक भित्राउने लक्ष्य पुरा हुने अनुमान पर्यटन बोर्डको छ ।

सन् २०१४ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने भूकम्प आएको वर्ष अर्थात् २०१५ मा पर्यटकको संख्या घटेर पाँच लाखको हाराहारीमा पुग्यो। तर २०१६ मा सात लाख ५३ हजार भन्दा बढी विदेशी पर्यटक भित्रिए। २०१५को तुलनामा २०१६ मा २१.३ प्रतिशतले विदेशी पर्यटकको संख्या बढेको देखियो ।

होटल एशोसिएशन अफ नेपाल (हान) का अनुसार देशैभर साना ठूला गरि एक हजार २०० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा छन् । वर्षभर १५ लाख पर्यटकहरुलाई सेवादिन सक्ने क्षमता भए पनि विमानस्थल र बाटोघाटो राम्रो नभएको कारण पर्यटक सोचे जति अझै आउन नसकेको बताउँछन् हानका महासचिव विनायक शाह। ‘अघिल्लो वर्षको आठ महिनामा ५० प्रतिशत मात्र होटल बुकिङ भएको थियो भने यो वर्ष ७५ प्रतिशत बुकिङ भइसकेको हुँदा पर्यटकको संख्या वृद्धि हुनेमा कुनै शंका छैन’ महासचिव शाह भन्छन्, ‘यसले पर्यटन उद्यमी तथा व्यवसायीहरुलाई उत्साही बनाएको छ।’

भूकम्पपछि पनि पर्यटक आगमन खासै प्रभावित नभएको र पछिल्ला महिनामा संख्या बढ्दै गएको किन होला? जानकारहरु नेपाल विदेशी पर्यटकको पदयात्राका लागि सधैं सुन्दर गन्तव्य रहेको जिकिर गर्छन्। पदयात्रा गर्ने पर्यटनका लागि अक्टोबर र नोभेम्बर उपयुक्त महिनाहरु हुन्। साथै, माउन्टेन फ्लाइटका लागि पनि यो समय उपयुक्त रहेको बताउँछन् ट्रेकिङ व्यवसायीहरु। ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अनुसार पदयात्री पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा यो वर्ष ३० देखि ४० प्रतिशतले बढेको छ।

‘यहाँका पदमार्गहरु साह्रै गजब छन्’ सात बर्षदेखि नेपालमा रहेर पर्यटन व्यवसायमा संलग्न नेदरल्याण्डकी रियाना भन्छिन्, ‘जंगल सफारी र प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अवलोकनको मौका त बाहिरबाट आउँनेहरुका लागि वोनस अनुभव जस्तो हो।’

नेपालमा छिर्ने विदेशी पर्यटहरुमा सबैभन्दा धेरै भारत र दोस्रोमा चीन हँुदै क्रमश श्रीलंका, अमेरिका र बेलायतका छन्। भूकम्प जानुभन्दा पहिला नेपालमा श्रीलंकाली पर्यटकभन्दा बढी अमेरिकी पर्यटकहरु भित्रिएको तथ्याङ्क रहेको छ। ‘तर यो वर्ष अमेरिकी पर्यटक विगतको तुलनमा बढ्ने आठ महिनाको तथ्याङ्कले देखाएको छ’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी भन्छन्।

भूकम्पजस्तो भवितव्य पछि पनि नेपालमा धेरै पर्यटक भित्रिनुको कारण पर्यटन क्षेत्रमा लागेका व्यक्ति र संघसंस्थाहरुको सक्रियता नै हो। कार्यकारी अधिकृत जोशी भन्छन् ‘यो बीचमा पर्यटक भित्र्याउनकालागि ३ सय भन्दा बढी अन्तराष्ट्रिय मिडिया, सेलिब्रेटी, पर्यटन व्यावयीहरु र १०० भन्दा वढी ब्लगरहरुलाई नेपाल भ्रमण गराएका थियौँ। उनीहरु मार्फत् नेपालको सकारात्मक सन्देश देशविदेशमा पुगेको छ।’

२०२० मा १५ लाख पर्यटक भित्राउने सरकारको लक्ष्य प्राप्त गर्न पर्यटन बोर्डले घुमफिर अभियान, फोटो प्रदर्शनी लागायतका कार्यलाई निरन्तरता दिने भएको छ। यसका साथै सांस्कृतिक सम्पदाहरुलाई सरसफाई राख्ने, पूर्वाधार निर्माणमा सरकारलाई आव्हान गर्ने र नेपालमा आएका पर्यटकहरुलाई बढी भन्दा बढी खर्च गराउने माध्यमको खोजीमा लागि पर्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीको भनाइ छ। उनी भन्छन् ‘पर्यटक ल्याएर मात्र भएन, उनीहरुलाई यहाँ घुमाउने र खर्च गर्ने वातावरणतिर पनि ध्यान दिनुपर्ने छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार