आज धनधान्यकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज (बिहीबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्‍याडलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मीपूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजाकोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजाकोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रहिआएको छ ।

आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर लक्ष्मी र धनधान्यको आगमन होस् भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

आज साँझ युवतीले समूह बनाइ घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजालाई भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।

‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भइ भैलो हुन आएको पनि उनले बताए ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

लक्ष्मीपूजाका अवसरमा आज सहर, बजारमा दीपावली गरी झिलिमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ ।

आज नै नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्ती स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो ।

१० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खन्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खन्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

भारतका महापन्डित राहुल साँकृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गरेका थिए भने नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचार–प्रसारमासमेत उनले महत्वपूर्ण योगदान दिएका थिए ।

वि.सं. २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयकारूपमा लागू गर्नु/गराउनु र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकैदिनमा ‘कुञ्जिनी’ खन्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र संख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताकाबीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार