याक विकास फाम स्याङबोचेमा अहिलेसम्मकै धेरै बाच्छाबाच्छी उत्पादन ।

नेपालकै एक मात्र याक विकास फाम स्याङबोचेमा एकै साल ५६ बटा बाच्छाबाच्छी उत्पादन भएको छ । आर्थिक बर्ष ०७३/०७४ मा अहिलेसम्मकै धेरै बाच्छाबाच्छी उत्पादन भएको याक विकास फामका प्राविधिक ललन यादवले बताउनुभयो ।

नेपाल सरकार र चीन सरकारबीच सम्झौता भए अनुरुप करिव तीन बर्ष अघि तिव्वतबाट ३० बटा उन्नत जातका याक र नाक ल्यार्इएको थियो । याक संरक्षण र नश्ल सुधारका लागि तिव्वतबाट २५ बटा पोथी र ५ बटा भाले याक गरी ३० बटा याकनाक ल्यार्इएकोमा तिनीहरुबाट नै बाच्छाबाच्छी उत्पादन भई अहिले फाममा साढे २ सय भालेपोथी याकहरु रहेका छन् ।

फाम स्थापना भएकै बर्ष पनि तिव्वतबाट नै २८ बटा याकनाक ल्यार्इएको थियो । सरकारले दुर्इ बटा उच्च हिमाली जिल्लामा याक फाम स्थापना गरेकोमा डोल्पामा रहेको याक फाम बन्द भर्इसकेको छ । हाल सोलुखुम्बुको स्याङबोचेमा मात्र याकको संरक्षण र सम्बर्दन गरिदै आएको छ ।

यस्तै उन्नत जातका बाच्छाबाच्छी उत्पादन भएपछी किसानहरुको माग बढ्न थालेको याक विकास फाम स्याङबोचेले जनाएको छ । याकपालन व्यबसाय छाडिसकेका किसानहरुले पनि उन्नत जातका याक देखेपछि पाल्न रुची देखाएका छन ।

विगतको तुलनामा केहि कमी देखिएपनि पछिल्ला समय विभिन्न गैरसरकारी संस्थाको सहयोगमा फेरी किसानहरु त्यसतर्फ आकर्षित हुन थालेका छन । अहिले तल्लो क्षेत्रका गोली, भकाञ्जे, टाक्सिन्दु, गोराखानी, तामाखानी लगायतका क्षेत्रका किसानहरु याकपालन व्यबसायमा फर्किएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार