पर्यटकीय सवारीसाधनलाई व्यवस्थित बनाउन बसपार्क

पर्यटकीय सवारी साधनलाई व्यवस्थित बनाउनका लागि पर्यटकीय बसपार्क आवश्यक रहेको व्यवसायीले बताएका छन् ।
टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)को ‘सातौँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमका वक्ताहरुले देशको विकासको मुख्य आधार पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि बसपार्क आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा पोखरा पर्यटन विकास परिषद्का अध्यक्ष केदारनाथ शर्माले राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको गुनासो गर्नुभयो । “यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउने पर्यटकीय बसलाई राज्यले बेवास्ता गरेको छ,” उहाँले भन्नुभयो ।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का पश्चिमाञ्चल अध्यक्ष दिलप्रसाद गौतमले पूर्वाधारको अभावका कारण पर्यटकीय बससञ्चालन गर्न समस्या परेको बताउनुभयो । “पर्यटकीय बसलाई सहज रुपले सञ्चालन गर्नका लागि पर्यटन ऐनमा संशोधन गर्नुपर्ने आवश्यक छ,”– उहाँले भन्नुभयो ।
टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष श्रीकान्त आचार्यले पछिल्लो समय युवा व्यवसायी पर्यटकीय बसतर्फ आकर्षित हुँदै गएकाले यूवा व्यवसायीको लगानीको सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
विसं २०६७ मा स्थापना भएको टिवानमा हाल ३४ वटा कम्पनीले सदस्यता लिनुका साथै काठमाडौँदेखि पोखरा र काठमाडौँदेखि सौराहसम्म बस सञ्चालन भइरहेको टिवानका उपाध्यक्ष ईश्वर शर्माले जानकारी दिनुभयो । हाल काठमाडौँको जमलदेखि बिहान ७ बजे पोखरा र चितवनका लागि बस छुट्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार