स्थानीयको पहलमा पदमार्ग निर्माण

पर्वतको हम्पाल हँुदै म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडा पुग्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग अन्तर्गत हम्पाल–मोहरेडाँडा खण्डमा नयाँ पदमार्ग निर्माण भएको हो । करिब दुई किमी पदमार्ग निर्माण गरिएको पदमार्ग व्यवस्थापक चित्र तिलीजा पुनले जानकारी दिनुभयो ।
जंगलको झाडी हटाएर फराकिलो बाटो बनाइएपछि हम्पालदेखि जलजला हुँदै धिमेडाँडासम्मको घुमाउरो बाटो नयाँ पदमार्ग निर्माण गरेपछि ३० मिनेट यात्रा अवधि छोट्टिएको छ ।
पदमार्ग निर्माणमा नागी र शालिजाको तारेका युवाले महत्वपूर्ण योगदान गरेका छन् । पदमार्ग निर्माणमा पदमार्ग व्यवस्थापन समितिले ३० हजार अनुदान उपलब्ध गराए पनि अनुदानको तुलनामा तेब्बर बढी रकम बराबरको काम भएको व्यवस्थापन पक्षले जनाएको छ ।
पदमार्ग सुधार गरिएपछि पर्यटकलाई यात्रा गर्न सहज हुनको साथै बाटो बिराउने समस्या हटेको छ ।
यसैगरी डाँडाकटेरी र लोप्रेका बासिन्दाले पनि पदमार्ग व्यवस्थापन समितिको सहयोगका साथै श्रमदान गरेर बाटोमा ढुंगा बिछ्याउने र मर्मत गर्ने काम गरेका छन् ।
स्थानीय तथा व्यवस्थापन समितिको सहयोगमा पदमार्गको नक्साअनुसार विभिन्न ठाउँमा सूचनापाटी राख्ने तयारी गरिएको स्थानीयले बताएका छन् । ठाउँको नाम, अवस्थित उचाइ लगायतका विवरणसहितको सूचनापाटीका साथै दोबाटोमा स्थायी संकेत बोर्ड राख्न लागिएको व्यवस्थाप पक्षले जनाएको छ ।
शालिजाको तारेका युवाले पदमार्ग अन्तर्गतपर्ने धिमेडाँडामा खाना, खाजा खाने होटल सञ्चालन गरेका छन् । पदमार्ग क्षेत्रका ४२ जना युवालाई पर्यटक गाइडसम्बन्धी तालीमसमेत प्रदान गरिएको छ ।
म्याग्दीको घुमाउने तालदेखि बाँसखर्क, डाँडाकटेरी, नाँगी, हम्पाल, मोहरे डाँडा, फूलबारी, प्यारीबाराही ताल, टिकोट र खिवाङलाई समेटेर वि.सं. २०६७ देखि समुदायको पहलमा पदमार्ग सञ्चालनमा ल्याइएको थियो ।

समुदायको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा आयस्रोत जुटाउने उद्देश्यले सञ्चालित पदमार्गको भ्रमणमा आउने पर्यटक बढ्दै गएपछि पूर्वाधार निर्माणले तीव्रता पाएको छ । पर्यटकको सुविधाका लागि बाँसखर्क, डाँडाकटेरी, टिकोट र खिवाङमा होमस्टे, नाँगी, मोहरे डाँडा र फूलबारीमा सामुदायिक लज सञ्चालन गरिएको छ ।
ग्रामीण बस्ती, मगर संस्कृति, हिमशृङ्खला, सूर्योदयको दृष्यावलोकन र गुराँसे जंगल यस पदमार्गको आकर्षण हो । सामुन्द्रिक सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा अवस्थित मोहरे डाँडा यस पदमार्गको प्रमुख गन्तव्य बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार