नेपाल कीर्गिस्तानसँग पराजित


एएफसी यु–१९ च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ ।
कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको हो । किर्गिस्तानले पहिलो  र दोस्रो हाफको अतिरिक्त समयमा एक–एक गोल गरेपछि नेपाल पराजित भयो ।
किर्गिस्तानका लागि बोरुबाएभ गुल्जिगिटीले खेलको २२औं मिनेटमा  र शुकुरोभ अलीमार्दोभले खेलको दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गर्दै आफ्नो टोलीलाई २–० को सहज जित दिलाए । सो जितसँगै किर्गिस्तानले तीन अंक जोडेको छ ।
समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल यही कात्तिक १६ गते बहराइनसँग खेल्नेछ । नेपालको समूहमा आयोजक किर्गिस्तानसहित ओमान, संयुक्त अरब इमिरेट्स र बहराइन छन् ।
दश समूहमा विभाजन गरिएको उक्त छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार