पर्यटकलाई प्रवेश गरेकै आधारमा शुल्क लिन मिल्दैनः पर्यटन मन्त्रालय


स्थानीय तहले आन्तरिक तथा बाह्य पर्यटकलाई शुल्क लिंदैं गर्दा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पर्यटकलाई स्थानीय तहले आफ्नो क्षेत्र प्रवेश गरेकै आधारमा शुल्क लिन नमिल्ने बताउनुभएको छ । नेपाल पर्वतारोहण संघको ४४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमम सचिव न्यौपानेले स्थानीय तहले पर्यटकलाई सेवा प्रवाह गरेवापतमात्र पर्यटन सेवा शुल्क लिन सक्ने तर प्रवेश गरेकै आधारमा शुल्क लिन नमिल्ने स्पष्ट पार्नुभएको हो । सचिव न्यौपानेले यो विषयमा अर्थ मन्त्रालयले स्पष्ट पारीसकेको उल्लेख गर्दै नियम कानुन्को सबैले पालन गर्नुपर्ने बताउनुभयो ।


सचिव न्यौपानेले भन्नुभयो, ‘संघीयतामा पनि सरकार अहिले सहकार्य भइरहेका र गरिरहेका निजी क्षेत्रसंग राजश्व संकलन लगायतका विषयमा समेत सहकार्य गरेरै अघि बढ्नेछ ।’  कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका सचिव न्यौपानेले सरकारले पर्यटन क्षेत्रमा निजी क्षेत्रलाई अघि सारेर राजश्व संकलनसम्मको अधिकार निक्षेपण गरिएको स्मरण गराउँदैं पर्यटकलाई दुःख दिने काम कतैबाट हुन नहुने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रबाट उठ्ने राजश्वमा पारदर्शी हुनुपर्नेमा समेत जोड दिनुभयो । सचिव न्यौपानेले हिमाल बचाइराख्न सरकार र निजी क्षेत्र सचेत रहनुपर्नेमा जोड दिदैं पिक नविकरणका विषयमा मन्त्रालय सकारात्मक रहेको र नविकरणको विषय प्रशासनिक प्रकृयामा रहेको बताउनुभयो ।


पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराइले हिमालको सञ्चालन गर्न सरकारबाट मान्यता प्राप्त वैधानिक निकाय एनएमए भएकाले यो कार्य जिम्मेवारी एनएमएले निर्वाह गर्नेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिजनेस प्रतिस्पर्धाका नाममा पर्यटकलाई असहजता वा जोखिममा पारिरहेका छौं की? यो विषयमा ध्यान जान जरुरी छ ।’
एनएमएका अध्यक्ष सन्तबीर लामाले सरकारको नीति अनुसार नै एनएमएले काफ्नो गतिविधीहरु सञ्चालन गर्ने बताउनुभयो ।

एनएमएको स्थापना दिनवसका अवसरमा पर्यटन क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका तीन जना ब्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने समेत एनएमएले निर्णय गरेको छ । पुरस्कारका लागि स्वर्गिय कुमार खड्ग विक्रम साहसिक पुरस्कार मिङ्मा नुरु शेर्पा, स्वर्गिय डाक्टर हर्क गुरुङ पर्वतीय पुरस्कार बुद्धिनारायण श्रेष्ठ तथा स्वर्गिय दावा नुरु पर्यटन पत्रकारिता पुरस्कारका लागि राइजिङ नेपालका बलराममणी दाहालको नाम पुरस्कार छनौट समितिले सिफारिश गरेको समितिका संयोजक तथा एनएमएका संस्थापक सदस्य सम्भू तामाङले जानकारी दिनुभयो । शेर्पाले विश्वका आठ हजारमिटरभन्दा माथिका १४ हिमाल आरोहण गर्नुभएको छ भने, श्रेष्ठ सीमाविद हुनुहुन्छ । र दाहाल राइजिङ नेपालमा आवद्ध हुनुहुन्छ ।

नोभेम्बर १ मा मनाइने एनएमए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा एनएमएले प्रदान गरेको वेसिक क्लाइम्बिङ टे«निङ लिइएका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । टुरिजम बोर्डमा आयोजित कार्यक्रममा पर्यटनसंग आवद्ध विभिन्न संघसंस्थामा आवद्ध रहेका ब्यक्तित्व तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार