बढैयाताल गापालाई पर्यटकीय क्षेत्र बनाउने गरी बजेट पारित

बर्दियाको बढैयाताल गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने गरी आव २०७४÷७५ को पारित बजेट सार्वजनिक गरिएको छ ।
नेपालको संविधान २०७२ का विभिन्न धारामा आधारित रही गाउँसभाबाट पारित गरिएको बजेट गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले मंगलबार सार्वजनिक गर्नुभएको हो ।
बढैयाताल गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्रको पूर्वाधार विकास एवं पर्यटन प्रवद्र्धनलाई मुख्य योजना बनाई ७९ करोड १९ लाख बजेट पारित गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सभाले पारित बजेट अन्तर्गत पूँजीगततर्फ रु ७४ करोड ३६ लाख ५६ हजार र चालुतर्फ रु चार करोड ८२ लाख ४४ हजार विनियोजन गरेको छ । गाउँपालिका कार्यालयको भौतिक पूर्वाधार निर्माण, आवश्यक सवारीसाधन, हेभी इक्युपमेन्टलगायतका आधारभूत पूर्वाधारका लागिसमेत बजेट पारित गरेको छ ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, “गाउँपालिका अन्तर्गतका सडक पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, ढल, विद्युत्लगायतका आवश्यक पूर्वाधार निर्माणमा महत्व दिई रकम विनियोजन गरेका छौँ ।”
सभाले गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत पारित गर्दै कृषि क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न कृषिउपजका पकेट क्षेत्र बनाउने कार्यक्रम सार्वजनिक गरेको छ ।
पशुपक्षी, दुग्धजन्य वस्तु उत्पादन बढाउँदै कृषिउपज संकलन क्षेत्र निर्माण गर्ने नीति गाउँपालिकाले लिएको हो । गाउँपालिकाले भिलेज प्रोफाइल बनाउँदै गाउँपालिकामा अवस्थित जिल्लाकै महत्वपूर्ण सिमसार क्षेत्र बढैयाताल लगायतका पर्यटकीयस्थललाई पर्यटनसँग जोड्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने नीति पारित गरेको अध्यक्षले जानकारी दिनुभयो ।
गाउँपालिकालाई आफ्नो भवन नहुँदा अत्यावश्यक जनशक्ति अभावमा जनताको काम तोकिएको समयमै गर्न कठिनाइ भइरहेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।
बजेटले गाउँपालिकाको सबै क्षेत्रलाई समेट्न नसकेको स्थानीय कालु थारुले बताउनुभयो । उहाँले भन्नुभयो पहिलो पटक भएर पनि होला आशातित क्षेत्रमा बजेटले छुन सकेन । बजेटले जस्तोसुकै क्षेत्रलाई समेटेको भए पनि यस क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनलाई विशेष जोड दिनु सकारात्मक विषय भएको उहाँले थप्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार