पर्यटन प्रबद्र्धन गर्दै अन्तर्राष्ट्रिय याक अट्याक साइकल दौड


लमजुङः विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११ औँ संस्करण शुरु भएको छ । नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुगोस भन्ने उद्धेश्यले आयोना गरिदैं आएको साइकल दौड प्रतियोगिता आज (आइतबार) देखि शुरु भएको हो ।
उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता बेंसीशहरबाट शुरु भएको छ । अघिल्लो वर्ष काठमाडौंबाट शुरु भएको प्रतियोगिताको दशौं र ११ औँ संस्करण बेंसीशहरबाट शुरु भएको हो । समुद्री सतहदेखि पाँच हजार ४१६ मि उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरी प्रतियोगिता शुरु भएको हो ।
दश दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित १० देशका ३१ प्रतियोगी सहभागी छन् । प्रतियोगितामा एक महिलासहित आठ नेपाली सहभागि छन् ।
प्रतियोगिताका विजेताले १२५० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले ७५० र तेस्रोले पाँच सय डलर पुरस्कार प्राप्त गर्नेछन् । पहिलो दिन प्रतियोगीहरु मनाङको ताल पुग्नेछन् । मनाङको ताल हुँदै माथिल्लो मनाङ, पाँच हजार ४१६ मि उचाइको थोराङ्ला भञ्ज्याङ गरी मुक्तिनाथ, जोमसोमबाट पोखरा आएर प्रतियोगिता सम्पन्न हुनेछ ।
बेलायती फिल इभान्सको आयोजना र नेपालको यति ट्राभल्सको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताका लागि नेपालको उच्च हिमाली क्षेत्र उत्तम भएकाले प्रत्येक वर्ष नेपालमा प्रतियोगिता आयोजना गर्दै आइरहेको निर्देशक इभान्सले बताउनुभयो ।
प्रतियोगिताबाट नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने इभान्सनले बताउनुभयो । पैदल यात्राका लागि साहसिक मानिएको अन्नपूर्ण पदमार्गमा साइकल दौड प्रतियोगिता आयोजना हुँदा विश्वकै ध्यान केन्द्रित भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार