कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकास प्राथमकितामा

नेपाली काँग्रेस कास्कीले जिल्लालाई समृद्धि र विकासको मार्गमा लैजान कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै आईतबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाको घोषणापत्र सार्वजनिक गर्दै काँग्रेसले कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासका माध्यमबाट जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले कस्केली जनताको आय वृद्धि गर्दै प्रत्येक परिवारको जीवनस्तर उठाउने र सबैलाई रोजगार सिर्जना गर्ने पार्टीको एक मात्र लक्ष्य रहेको बताउनुभयो ।
तालहरूको संरक्षण, सडक सञ्जालको विकास तथा विस्तार, आवश्यक पुलको निर्माणलाई अघि बढाउने काँग्रेसले जनाएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा कास्की क्षेत्र नं १ का उम्मेदवार एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले काँग्रेसको विजयबाट मात्रै संविधानको कार्यान्वयन र लोकतन्त्रको विकास हुने जिकिर गर्नुभयो ।
प्रतिनिधिसभा कास्की क्षेत्र नं २ का उम्मेदवार देवराज चालिसेले विकासका लागि स्थानीय आवश्यकताअनुसार समयसापेक्ष सोच र नवीनतम् प्रविधिको प्रयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभा कास्की क्षेत्र नं ३ का उम्मेदवार शुक्रराज शर्माले पर्यटनको अत्यधिक सम्भावना बोकेको पोखराबाट लुम्बिनीका साथै उत्तरमा कैलाश मानसरोवरलाई जोड्नुका साथै आर्थिक विकास र समृद्धिलाई दृष्टिगत गरी महत्वपूर्ण योजनालाई काँग्रेसले अघि बढाउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभातर्फका उम्मेदवार कास्की १ (क) का जीवन परियार, १ (ख) का कृष्ण केसी, २ (क) का गुरुप्रसाद बराल, २ (ख) का विन्दुकुमार थापा, ३ (क) का शारदा पौडेल र ३ (ख) का सिकन्दरकुमार गुरुङले जिल्लाभित्रका सम्भावनालाई उजागर गर्दै कास्कीलाई समृद्ध जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार