सुचारु भयो अन्नपूर्ण वैकल्पिक पदमार्ग


अन्नपूर्ण चक्रिय पदयात्राका लागि वैकल्पिक मार्ग सुचारु गरिएको छ । मनाङसम्म मोटरबाटो निर्माण भएपछि प्रभावित पदयात्रामा मनाङ–लमजुङ होटल व्यवसायी समितिले वैकल्पिक पदमार्ग निर्माण गरेपछि सुचारु गरेको हो ।
बेँसीशहरदेखि खुदीसम्म निर्माण सम्पन्न वैकल्पिक मार्गको उद्घाटन पूर्व सांसद जमिन्द्रमान घलेले उक्त गर्नुभयो । पदमार्ग उद्घघाटनसँगै कार्यक्रमका सहभागीले पदयात्रासमेत गरेका थिए ।
अन्नपूर्ण पदमार्गमा मोटरबाटोका कारण अवधि छोटिँदै जानु र सवारीकै कारण पदयात्रामा अनेक समस्या आउन थालेपछि नयाँ विकल्प खोजिएको पदमार्ग निर्माण समितिका सचिव पूर्णबहादुर गुरुङले बताउनुभयो । पदमार्ग छोटिँदा र सवारी समस्याका कारण पर्यटकको संख्या अघिल्ला बर्षको अनुपातमा बढ्न नसकेका कारण पर्यटकलाई आकर्षित गर्न नयाँ मार्ग निर्माण आवश्यक भएको उहाँले बताउनुभयो ।
पैदलयात्रा मार्गको निर्माण र शुरुवातसँगै यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र नयाँ पर्यटकीय गन्तव्यको खोजीमा समेत लागिपरेको वैकल्पिक पदमार्ग अभियन्ता एवं पर्यटन व्यवसायी त्रिपल टी गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो ‘अन्नपूर्ण पदमार्गको पहिलेको साखलाई जीवित राख्दै विश्वभर सकारात्मक प्रभाव पार्दै स्थानीयवासीमा आर्थिक समृद्धि ल्याउने लक्ष्य छ ।’
बेँसीशहरको पुमाखोलाबाट मस्र्याङ्दी गाउँपालिकाको खुदीसम्म वैकल्पिक पदमार्ग निर्माण भइसकेको छ । उक्त पदमार्गमा पर्यटन बोर्डको सहयोगमा पर्यटकीय पथप्रदर्शक सूचना राख्नुका साथै, सिँडी लगाउने, जोखिमस्थानमा जाली लगाउने, खोलामा काठेपुल राख्नेजस्ता काम गरिएको छ ।
खुदीदेखि बाहुनडाँडा, स्यागे हुँदै मनाङका विभिन्न गाउँलाई जोडेर पदमार्ग निर्माणाधीन अवस्थामा रहेको पनि समितिले जनाएको छ । पदयात्रा छोट्टिएसँगै धरापमा रहेका होटल व्यवसायी पनि वैकल्पिक पदमार्ग सञ्चालनमा आएपछि उत्साहित भएका छन् ।
वार्षिक २५ हजारको हाराहारीमा पर्यटकहरु अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । पहिले–पहिले बेँसीशहरबाट शुरु भएको अन्नपूर्ण पदयात्रा मनाङ, मुस्ताङको मुक्तिनाथ, जोमसोम, म्याग्दी हुँदै २१ दिनमा पोखरामा टुङ्गिन्थ्यो । पछिल्लो समय दुवैतर्फबाट मोटर सञ्चालन भएपछि २१ दिनको यात्रा एक सातामा टुङ्गिने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार