नगरकोटका पर्यटन व्यवसायी जिल्ला प्रशासनमा


नगरकोट भ्रमणमा आउने बाह्य पर्यटकसँग चाँगुनारायण नगरपालिकाले शुल्क उठाएको बिरोधमा यहाँका पर्यटन व्यवसायीहरु जिल्ला प्रशासन कार्यालय भक्तपुर आइपुगेका छन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय सरकारले आफुखुशी पर्यटन शुल्क नउठाउन यसअघि नै पत्राचार गरेको भए पनि चाँगुनाराण नगरपालिकाले पर्यटन शुल्क आफुखुशी मनोमानी ढंगले उठाएको भन्दै उक्त कार्य रोक्न  जिल्ला प्रशासन कार्यालयमा नगरकोट नाल्दुम पर्यटन विकास समितिले ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझाउँदै नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामाले नगरपालिकाले एकलौटी रुपमा पर्यटन शुल्क उठाउन टेण्डर लगाएको जानकारी दिनुभयो । लामाले बार्षिक चार लाख पर्यटक भित्रने नगरकोटमा निजी कम्पनीलाई ५१ लाखमा टेण्डर दिइएको पनि जानकारी दिनुभयो ।
व्यवसायी एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष लामाले नगरपालिकाले निर्णय नसच्याए व्यवसायीले होटल बन्द गरेर नगरपालिका घेराउ गर्ने चेतावनी समेत दिनुभयो ।
अर्का व्यवसायी गोकुल शर्माले नगरपालिकाले व्यवसायीसँग बिना छलफल पर्यटन शुल्क उठाएर नगरकोटको पर्यटन व्यवसायलाई ध्वस्त बनाएको आरोप लगाउनुभयो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले अनियमति तवरबाट उठाएको प्रवेश शुल्क रोक्न स्थानीय विकास मन्त्रालयमा पत्राचार गर्ने जानकारी दिनुभयो ।
नगरपालिकाले असोज १ गतेदेखि नगरकोट आउने बाह्य पर्यटकमध्ये सार्क मुलुकका पर्यटकसँग प्रति पर्यटक २०० र अन्य देशका पर्यटकसँग ३०० लिने गरी ठेक्का दिएको थियो । पर्यटन व्यवसायीले उक्त  निर्णय फिर्ता लिन माग गर्दै आएका छन् ।
व्यवसायीले पर्यटन शुल्क रोक्न माग गरेपनि नगरप्रमुख सोम मिश्रले आफू एक्लैले सो निर्णय गरेको नभई नगर कार्यपालिकाले निर्णय गरेको बताउँदै आएको व्यवसायीको भनाइ छ । स्थानीय तहले पर्यटकलाई शुल्क नलिन सरकारले गरेको निर्णय र पत्राचारको वेवास्ता गर्दै विभिन्न स्थानीय तहमा पर्यटकलाई शुल्क उठाउने कार्य अझै रोकिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार