निकुञ्ज वरिपरी रिसोर्ट खुल्दै


पर्सा राष्ट्रिय निकुञ्ज वरिपरी रिसोर्ट खुल्ने क्रम बढ्दो छ । बाराको निजगढ आसपासमा निजगढ काठमाडौं द्रुतमार्ग तथा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि रिसोर्ट खुल्ने क्रम बढेको हो ।
दुई नम्बर प्रदेशभित्र पर्ने एकमात्र पर्सा वन्यजन्तु आरक्षबाट निकुञ्जमा स्तरोनन्ति भएपछि यस क्षेत्रमा ठूलो लगानीमा होटलहरु खुल्न थालेका हुन् ।
स्वदेशी तथा विदेशी पर्यटकलाई थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले होटल व्यावसायीले पर्यटकलाई तान्न ठूलाठूला लगानीमा होटल तथा रिसोर्ट निर्माण गर्दैछन् ।
होटल व्यवसायी मोहन शर्माले दुई करोड ५० लाखको लगानीमा एलिफेन्ट भिलेज रिसोर्ट निर्माण गर्न लाग्नुभएको छ । निर्माणको अन्तिम चरणमा रहेको यो रिसोर्टमा सुविधासम्पन्न कोठा, खाने बस्ने व्यवस्था पौडी पोखरी, निकुञ्ज घुमाउने पथप्रदर्शकको व्यवस्था गरिएको छ ।

करिब ६ सय ७३ वर्ग किमी क्षेत्रमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज धार्मिक तथा जैविक विविधापूर्ण छ । सिमरास्थित चारतारे होटल इच्छाका सञ्चालक इच्छाबहादुर वाग्लेको इच्छा हात्तीसार क्षेत्रमा होटल निर्माण गर्ने रहेको छ । उनले करिब तीन करोडको लगानीमा सुविधा सम्पन्न होटल निर्माण गर्न लागेको बताइएको छ ।
जैविक विविधता र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यस निकुञ्जमा होटल तथा रिसोर्ट व्यवसायको सम्भावना रहेकाले व्यवसायप्रति आकर्षित हुनु यस क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो ।
बारा र पर्साको सीमामा पर्ने निकुञ्जभित्र दुर्लभ जनावर र लोप हुँदै गइरहेको पशुपक्षी हेर्न प्रत्येक वर्ष दुई हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । यस क्षेत्रको आर्थिक विकासका रुपमा रहेको दु्रत मार्ग र विमानस्थल निर्माण भएपछि यहाँको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।
उद्योगपति प्रदीप केडियाले निकुञ्जमा होटल खुल्नु सकारात्मक भएको बताउनुभयो । उद्योगपति कडियाले  निकुञ्जमाथि चुनौती थपिदै गएकाले पर्यटकीय क्षेत्रको विकासमा पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार