अर्को वर्ष आठौं राष्ट्रिय खेलकुद

२०७४-राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अर्को वर्षको मंसिर दोस्रो साता आयोजना गर्ने तयारी गरेको छ । असोजमा जिल्ला स्तरीय र मंसिर पहिलो साता क्षेत्रीय प्रतियोगिता गर्ने जनाइएको छ ।


प्रतियोगिताको मिति अब बस्ने परिषद्को बोर्ड बैठकले निर्णय गर्ने राखेप सदस्य–सचिव केशवकुमार विष्टले बताए । राष्ट्रिय प्रतियोगिता तयारीबारे जानकारी दिन नेपालगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सदस्य–सचिव विष्टले २०७५ मंसिर दोस्रो साता आठौं राष्ट्रिय खेलकुद गर्ने लक्ष्यसहित पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको बताए ।

नेपालगन्ज, दाङ र बर्दियामा प्रतियोगिता सञ्चालन गर्नेगरी पूर्वाधार निर्माणको काम भइरहेको छ । परिषद्ले राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश गर्ने तयारी गरेको छ । २० खेल नेपालगन्जमा, १० खेल दाङमा र ५ खेल बर्दियामा हुनेछन् । राष्ट्रिय प्रतियोगिताका लागि १ अर्ब २४ करोड रुपैयाँ पूर्वाधार निर्माणमा खर्च गर्ने तयारी रहेको सदस्य–सचिवको भनाइ छ । परिषद्का अनुसार यो वर्ष करिब ५३ करोडको लागतमा पूर्वाधार निर्माणका कामहरू हुनेछन् ।

‘१३ औं साग खेलकुद र आठौं राष्ट्रिय खेलकुदको कामलाई सँगसँगै अगाडि बढाइएको छ । राष्ट्रिय प्रतियोगिताको टुंगो आगामी बोर्ड बैठकले लगाउने छ । मंसिर दोस्रो साता प्रतियोगिता गर्ने परिषद्को लक्ष्य छ,’ सदस्य–सचिवले भने, ‘यसवर्ष पूर्वाधार निर्माणका लागि ११ करोड रकम प्राप्त भइसकेको छ भने ४१ करोड रकम निकासा हुने प्रक्रिया छ ।’

आठौं राष्ट्रिय प्रतियोगिता तयारीसम्बन्धि भौतिक पूर्वाधार निर्माण समिति र तयारी सचिबालयका संयोजक बिनोद मैनालीले पूर्वाधार निर्माणसँगै अन्य तयारी पनि तीव्र बनाइएको बताए । उनका अनुसार एक महिनाअघि प्रतियोगिताका लागि मस्कटका रूपमा हात्तीको छावा घोषणा गरिएको छ भने गीत, नारा र लोगो छनोटका लागि सूचना प्रकाशित भइसकेको छ ।

सचिवालयका सदस्य–सचिव एवं मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीका अनुसार तयारीका लागि नेपालगन्ज रंगशाला स्तरोन्नतिको पहिलो चरणका ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । उनले कोहलपुरमा क्रिकेट मैदान निर्माणलाई ९० लाखको टेण्डर भइसकेको बताए । उनका अनुसार पौडी पोखरीको निर्माणको काम सुरु गरिएको छ भने भारोत्तोलन एकेडेमीको पहिलो तला निर्माणको काम सकिएको छ । उनले जुडो एकेडेमीका लागि टेण्डर प्रक्रिया सुरु भएको जनाए ।

सदस्य–सचिवले आठौं राष्ट्रियमा खेलाडीको दैनिकभत्ता २५ सय रुपैयाँ पुर्‍याइने दाबी गरे । ६ हजार खेलाडी सहभागी गराइने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार