कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न ग्रीन कागते, क्लिन कागते’ अभियान गरिँदै

धनकुटाको कागते कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास हुुदैंछ । ग्रीन कागते, क्लिन कागते’ अभियान शुरू गरेसँगै धनकुटा नगरपालिका–३ स्थित कागते पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेको हो । धनकुटा बजारबाट चार किलोमिटर टाढा रहेको कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नव निर्वाचित जनप्रतिनिधि र स्थानीवासीले अभियान नै सञ्चालन गरेका छन् ।
हिले र धनकुटा बजारको बीच भागमा पर्ने कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न कागतेको भूगोललाई तीन भागमा विभाजन गरिएको छ । कागतेलाई वैकल्पिक शहरको रूपमा विकास गर्दै मालबासे, चाङलुङगा र सिलुङ्गा क्षेत्रलाई बाख्रापालन पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना अघि बढाएको धनकुटा नगरपालिका–३ कागतेका वडाध्यक्ष विकास घिमिरेले बताउनुभयो ।
प्रशस्त मात्रामा डाले घाँस पाइने यो क्षेत्रमा बाख्रापालनको पर्याप्त सम्भावना छ । बाख्रापालनलाई अघि बढाउन दुई लाख बराबरको उन्नत बोयर जातका दुईवटा बोका कागते ल्याइएको छ । अध्यक्ष घिमिरेका अनुसार दुईवटा कृषि समूह बनाएर ती बोका वितरण गरिएको छ ।
त्यसैगरी पातले, सेउले र लाकुरेलाई गाई भैँसी र नगदेबालीको पकेट क्षेत्रका रूपमा विकास गरिँदैछ । कागते र निगाले क्षेत्रलाई पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी योजना अघि बढाइएको छ । ‘ग्रीन कागते, क्लिन कागते’ अभियानअन्तर्गत कागतेका प्रत्येक घर हरियो रङले पोतिएका छन् । निगाले क्षेत्रका प्रत्येक घरमा पनि अब छिट्टै हरियो रङ पोतिने बताइएको छ ।
हरियालीलाई विशेष प्राथमिकता दिएको र घरको छेउछाउमा फूल, धुपीका बिरुवा रोप्न शुरू गरेका स्थानीय बताउँछन् ।
कागतेलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न बाल उद्यान र वनभोज स्थल निर्माण गरिँदैछ । कागती फलको स्तम्भ पनि त्यहाँ बनाउने योजना छ । अहिले उक्त वडामा बिहानदेखि बेलुका चार बजेसम्म घरेलु मदिरा बिक्री वितरण तथा सेवन गर्न निषेध गरिएको छ ।
करिब १५ सय जनसंख्या रहेको सो वडामा क्षेत्री, बाहुन, राई, दलित, नेवार लगाायत समुदायको बसोबास रहेको छ । यहाँका स्थानीयवासी कृषिबाटै आत्मनिर्भर बनेका छन् । कागतेका प्रत्येक सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउने बताइएको छ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका उम्मेदवारले समेत कागेत क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार