नेपाल पर्वतारोहण संघ (एनएमए) ले माउन्टेन फेस्टिबल मनाउने


हिमाली वातावरण, हिमालबासी, हिमाली पर्यटन अनि हिमाली संस्कृति भेषभूषा झल्कने गरी नेपाल पर्वतारोहण संघले माउन्टेन फेस्टिबल मनाउने भएको छ । पोखरास्थित इन्टरनेशनल माउन्टेन म्यूजियममा मनाइने फेस्टिबलमा हिमाली संस्कृति, हिमालबासी, हिमाली पर्यटन जस्ता विषयलाई समेटेर  मनाउने गरेको एनएमएका अध्यक्ष शन्तबीर लामाले जानकारी दिनुभयो ।
माउन्टेन फेस्टिबल मनाउने विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लामाले सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटन क्षेत्रलाई हाम्रो देशको गहनाको रुपमा ग्रहण गर्न पाइयोस भनि फेस्टिबलको आयोजना गरिएको हो ।’ फेस्टिबल हिमाली पर्यटन प्रबद्र्धनका लागि पोखरामा आयोजना गरिएको पनि अध्यक्ष लामाले बताउनुभयो । डिसेम्बर ११ र १२ (मंसिर २५ र २६) गते फेस्टिबलको आयोजना गरिएको पनि अध्यक्ष लामाले बताउनुभयो ।
सन् २००२मा पोखरामा स्थापना भएको इन्टरनेशनल माउन्टेन म्यूजियममा विगत तीन वर्षदेखि निरन्तर माउन्टेन फेस्टिबलको आयोजना हुँदै आएको छ । यो पटक आयोजित चारौं फेस्टिबलमा ओपन क्लाइम्बिङ वाल, छेलो हान्ने, तारो खेल, संस्कृति झल्कने नृत्य, विभिन्न स्टल प्रदर्शनी तथा हिमालमा हिउँ पग्लदैंछ भन्ने विषयमा माउन्टेन सम्मेलन गरिने आयोजक एनएमएका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।
विशेष गरी स्वदेशी तथा विदेशी अवलोकनकर्तालाई लक्षित गरी आयोजित फेस्टिबलमा २३ वटा संस्थाले स्टल राख्नेछन् । हिमालमा बसोबास गर्ने आदिवासीको रहनसहन, भेषभूषा सम्बन्धी जानकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्नु पनि फेस्टिबलको उद्धेश्य रहेको एनएमएका सचिव टिकाराक गुरुङले बताउनुभयो ।
यसअघिका फेस्टिबलहरुमा पाँच लाख अबलोकनकर्ताले फेस्टिबल अबलोकन गरेका थिए । यो पटक पनि पाँच लाख विदेशी तथा नेपाली आगन्तुकले फेस्टिबलको अवलोकन गर्ने अनुमान गरिएको छ । फेस्टिबलका लागि लगभग ३० लाख रुपैंया खर्च हुने अनुमान एनएमएको छ । फेस्टिबल एनएमए, विभिन्न संघसंस्था र नेपाल सरकारको आर्थिक सहयोगमा सञ्चालन गरिने एनएमएले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार