माउन्टेन फेस्टिबल आजदेखि शुरु

अन्तरािष्ट्रय माउन्टेन फेस्टिबल आजदेखि शुरु भएको छ । हिमाली वातावरण, हिमालबासी, हिमाली पर्यटन अनि हिमाली संस्कृति भेषभूषा झल्कने गरी नेपाल पर्वतारोहण संघले माउन्टेन फेस्टिबल आयोजना गरिएको हो ।


पोखरास्थित इन्टरनेशनल माउन्टेन म्यूजियममा आयोजना गरिएको महोत्सवमा हिमाली संस्कृति, हिमालबासी, हिमाली पर्यटन जस्ता विषयलाई समेटिएको एनएमएका अध्यक्ष शन्तबीर लामाले जानकारी दिनुभयो ।


फेस्टिबलको अवसरमा अध्यक्ष लामाले सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटन क्षेत्रलाई हाम्रो देशको गहनाको रुपमा ग्रहण गर्न पाइयोस भनि फेस्टिबलको आयोजना गरिएको हो ।’ फेस्टिबल हिमाली पर्यटन प्रबद्र्धनका लागि पोखरामा आयोजना गरिएको पनि अध्यक्ष लामाले जानकारी दिनुभयो । महोत्सव दुईदिनसम्म चल्नेछ ।
सन् २००२मा पोखरामा स्थापना भएको इन्टरनेशनल माउन्टेन म्यूजियममा विगत तीन वर्षदेखि निरन्तर माउन्टेन फेस्टिबलको आयोजना हुँदै आएको छ । दुइसम्म चल्ने महोत्सवमा ओपन क्लाइम्बिङ वाल, छेलो हान्ने, तारो खेल, संस्कृति झल्कने नृत्य, विभिन्न स्टल प्रदर्शनी तथा हिमालमा हिउँ पग्लदैंछ भन्ने विषयमा माउन्टेन सम्मेलन समेत गरिने आयोजक एनएमएले जनाएको छ ।


विशेष गरी स्वदेशी तथा विदेशी अवलोकनकर्तालाई लक्षित गरी आयोजित फेस्टिबलमा २३ वटा संस्थाले स्टल राखेका छन् । हिमालमा बसोबास गर्ने आदिवासीको रहनसहन, भेषभूषा सम्बन्धी जानकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्नु पनि फेस्टिबलको उद्धेश्य रहेको एनएमएका महासचिव कुलबहादुर गुरुङले बताउनुभयो ।
यसअघिका फेस्टिबलहरुमा पाँच लाख अबलोकनकर्ताले फेस्टिबल अबलोकन गरेका थिए । यो पटक पनि पाँच लाख विदेशी तथा नेपाली आगन्तुकले फेस्टिबलको अवलोकन गर्ने अनुमान गरिएको छ । फेस्टिबलका लागि लगभग ३० लाख रुपैंया खर्च हुने अनुमान एनएमएको छ । फेस्टिबल एनएमए, विभिन्न संघसंस्था र नेपाल सरकारको आर्थिक सहयोगमा सञ्चालन गरिएको एनएमएले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार