टनेलप्रति किसानको आकर्षण बढ्दै


दार्चला । पछिल्लो समय जिल्लाका अधिकांश किसान टनेलमा विभिन्न मौसमी तथा बेमौसमी तरकारी लगाइरहेका छन् ।
खुल्ला रुपमा भन्दा टनेलमा बढी तरकारी उत्पादन हुने भएका कारण किसान त्यसतर्फ आकर्षित हुन थालेका हुन् ।
उत्पादन बढी हुने, बेमौसमी तरकारी फलाउन सकिने, आधुनिक प्रविधियुक्त र सिँचाइ गर्न सजिलो हुने भएकाले किसानलाई टनेलभित्र तरकारी खेती गर्न सहज भएको सामुदायिक ग्रामीण विकास समाज नेपाल (सिआरडिएस) का टिम लिडर अशोक ओझाले जानकारी दिनुभयो, “टनेलभित्र उत्पादन बढी हुँदा आकर्षण बढ्दै गएको छ,” ओझाले भन्नुभयो ।
सिआरडिएसको पहल कार्यक्रमअन्तर्गत अहिले जिल्लाका भगवती, मालिकार्जुन, रिठाचौपता, बोहोरीगाउँ र खरकडामा कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जनसम्बन्धी काम भइरहेको छ । कार्यक्रम लागू भएका ठाउँमा किसान समूहमार्फत संस्थाले तरकारी खेती, बेर्ना उत्पादनलगायत सहयोग गरिरहेको ओझाले बताउनुभयो ।
विसं २०४९ मा स्थापना भएको (सिआरडिएस)ले अहिले जिल्लाका विभिन्न ठाउँमा विकास निर्माणलगायत समाज परिवर्तनको क्षेत्रमा काम गर्दै आएको छ । पहल कार्यक्रमले तरकारीको बीउ तथा टनेल सहयोग गरेपछि आफूहरु व्यावसायिक रुपमा तरकारीखेतीतर्फ आकर्षित भएको किसानले बताएका छन् । किसानले अहिले विशेषगरी गोलभेँडा खेती गरिरहेका छन् ।
गाउँमै प्रतिकिलो रु ५० मा गोेलभँेडा बिक्री हुन थालेपछि किसान हर्षित भएका छन् । पहल कार्यक्रमले खाद्य असुरक्षा भएका ठाउँमा कृषि क्षेत्र सुधार, कृषि बजार प्रवद्र्धन, पोषण तथा सरसफाइ, विपद् जोखिम व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापन, वैकल्पिक जीविकोपार्जन, वित्तीय सेवालगायत क्षेत्रमा काम गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार