जाजरकोट महोत्सवः महोत्सवमा कृषि पर्यटन तथा व्यापार मेला हुने


जाजरकोट । जाजरकोटमा जाजरकोट महोत्सव हुने भएको छ । ‘कला, संस्कृति, पर्यटन, कृषि उत्पादन र औद्योगीकरण हाम्रो अभियान–आत्मनिर्भर स्वाभिमानी र समुन्नत जाजरकोटको निर्माण’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना हुन लागेको हो । पुष १२ गतेबाट ५ दिनसम्म जाजरकोट महोत्सव एवं कृषि पर्यटन तथा व्यापार मेला लाग्ने भएको छ ।
सदरमुकाम खलंगास्थित त्रिभुवन माविको प्रांगणमा हुने महोत्सव उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना तथा भेरी नगरपालिकाको सहआयोजनामा हुन लागेको उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।
महोत्सवले जिल्लाका पर्यटकीय र औद्योगिक तथा व्यापारिक महत्वका विषय र क्षेत्रको प्रचारप्रसारसहित ग्रामीण अर्थतन्त्रको आधारका रुपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
महोत्सवका आकर्षणका रुपमा लोपोन्मुख तथा पौराणिक पहिचान झल्काउने झाँकी, स्थानीय बाजागाजा तथा संस्कृति एवं लोकनृत्य प्रस्तुति रहने छन् । मेलामा जिल्लामा पाइने बहुमूल्य पत्थर, जडीबुटी, फलफूल, गाभा, सरु तथा छेडागाडका माछा, राडीपाखी र घरेलु उत्पादन पनि प्रदर्शन गरिने भएको छ ।
स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न कलाकारको सांस्कृतिक प्रस्तुति रहने महोत्सवको तयारीलाई तीव्रता दिइएको महोत्सव सचिवालय समितिका सचिव दीपेन्द्र शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार