पर्यटकीय पूर्वाधारका लागि महायज्ञ

कास्कीको पर्यटकीयस्थल सराङकोटमा धार्मिक पर्यटकीय पूर्वाधार विकास गर्ने लक्ष्यका साथ आगामी माघ २२ गतेदेखि फागुन २ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने भएको छ ।
सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक प्रेमबहादुर जिसीले महायज्ञबाट पाँच करोड आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
सराङकोटमा निर्माणाधिन विशाल शिव मन्दिर र उक्त मन्दिरमा विश्वकै विशाल घण्ट स्थापना, १०८ शिवलिङ, १०८ सहस्रधारा, ऐतिहासिक संग्रहालय निर्माणका साथै भ्यूटावर, बाल उद्यान आदि निर्माणका लागि २९ करोडको योजना प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।
पर्यटकीय पूर्वाधार योजनाअन्तर्गत पूर्वाधार निर्माण गर्न पोखरा–लेखनाथ महानगरपालिकामा १३ करोडको योजना पेश भई साझेदारी काम शुरुवातमा छ । पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरभित्रका स्थलको पर्यटकीय पूर्वाधार विकास गरी सम्भावनालाई उजागर गर्ने विषय महानगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो ।
कार्यक्रममा महायज्ञ प्रचारप्रसार समिति संयोजक कृष्ण थापा, अन्नपूर्ण केबुलकार प्रालिका सञ्चालक तीर्थराज त्रिपाठीलगायतले सराङकोटको पर्यटकीय महत्व र सम्भावनाबारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार