सगरमाथाको उचाइ नापिनेः सबै तयारी पूरा

सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्न अन्तिम तयारी पूरा भएको हो ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले दुई करोड विनियोजन गरिसकेको र थप आवश्यक रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चित गरिसकेको जानकारी दिनुभयो ।
भूमिसुधार मन्त्रालयले सगरमाथाको उचाइ नेपालले आफ्नै स्रोत र जनशक्ति प्रयोग गरी मापन गर्नुपर्छ भनेर गतवर्ष नै प्रस्ताव गरेको र सोहीअनुसार सरकारले बजेट तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेपछि आवश्यक तयारी गरी मापनको अन्तिम चरणमा पुगिएको सहप्रक्ता पौडेलले बताउनुभयो ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले उचाइ मापनको कार्य अगाडि बढाउने छ । मापन कार्य शुरु गर्नुपूर्व विभागले भारत, चीनलगायत विभिन्न देशका नाप नक्सासँग सम्बन्धित केन्द्रीय निकायका प्रतिनिधि, वैज्ञानिकसहितको अन्तराष्ट्रिय गोष्ठी आयोजना गरेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको छ ।
यही मंसिर २५ र २६ गते काठमाडौँमा भएको गोष्ठीमा नापी विभागले मापनका लागि तयार पारेको कार्यविधीमा पनि छलफल भएको सहप्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
विश्वको सर्वोच्च शिखरका रुपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा भइरहेका बेला नेपालले अन्तराष्ट्रियस्तरमा मान्य हुने प्रविधि प्रयोग गरी मापन गर्ने गृहकार्य अगाडि बढाइएको हो ।
यसअघि १७० वर्षअघि तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । तत्पश्चात् विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका थिए । तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । सबै पूर्व तयारी सकिएकाले मापनको कार्य तत्काल शुरु गर्ने नापी विभागले जनाएको छ । आगामी दुई वर्षभित्र उचाइ मापन कार्य सक्ने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार