पर्यटकको आकर्षण बढाउन होमस्टे महोत्सव


तमू ल्होछारको मुखैमा गुल्मीका गुरुङ समुदायले पर्यटकलाई आकर्षण गर्न होमस्टे महोत्सव आयोजना गर्ने भएको छ । मुसिकोट नगरपालिका ६ स्वाँराका गुरुङ समुदायले स्वाँरा होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यले प्रथम होमस्टे महोत्सवको आयोजना गर्न लागेको हो ।
यही पुस १० देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा गुरुङ समुदायका विभिन्न कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमको साथमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको बेजोड सांस्कृतिक प्रस्तुति तथा खेलकुदलगायतका आकर्षक कार्यक्रमहरु गरिने समाजसेवी कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।
वि.सं २०६८ देखि स्वाँरामा होमस्टे सञ्चालनमा आएको भएपनि होमस्टेको उचित प्रचारप्रसार नहुँदा र यातायातको भरपर्दो व्यवस्था नहुँदा स्वाँरा होमस्टेमा पर्यटकको आवागमन घट्न थालेको समाजसेवी गुरुङले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकको घट्दो क्रमलाई रोक्न गुरुङ समुदायले सञ्चालन गर्न लागेको महोत्सव स्वाँरा होमस्टेको व्यापक प्रचारप्रसार गर्नका लागि आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार