सडक महोत्सवमा पर्यटन प्रवद्र्धनको मुख्य आकर्षण स्वदेशी खाना र साँस्कृतिक प्रदर्शनी


पोखरामा सडक महोत्सव आयोजना हुने भएको छ । स्वदेशी खाना, साँस्कृतिक रहनसहनको प्रदर्शन तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले अंगे्रजी नयाँ वर्षको अवसरमा १९औँ पोखरा सडक महोत्सव आयोजना गरिने भएको हो ।
महोत्सवको मुख्य आकर्षणका रुपमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, नेपालका सात प्रदेशका लोपोन्मुख सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिनेछ । त्यसैगरी भारत, चीन, जापान र दक्षिण कोरियाका सांस्कृतिक प्रदर्शनी समेत प्रदर्शन गरिनेछ ।


महोत्सवका क्रममा विभिन्न मनोरञ्जनात्मक खेलकुद, हस्तकला, वृत्तचित्र प्रदर्शनी, विभिन्न जिल्लाका उत्पादित कृषि जन्य पदार्थको प्रदर्शनी गरिने बताइएको छ । कार्यक्रमस्थलमा नेपाल मेडिसिटी अस्पतालका चिकित्सकबाट स्वास्थ्यसम्बन्धी जानकारी तथा मधुरोगको निःशुल्क जाँच गरिनेछ । महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको लाइभ कन्सर्ट र लोक दोहोरी प्रस्तुति समेत रहने बताइएको छ ।
पोखरामा आयोजित पत्रकार सम्मेलनमा रेबान पोखराका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक चौबहादुर गुरुङले महोत्सव पोखराको मुख्य पर्यटकीयस्थल शहिद चोकदेखि खहरे डिहिकोपाटनसम्मको करिब साढे तीन किमी क्षेत्रमा आयोजना गरिने बताउनुभयो । पोखराका रेस्टुरेन्ट व्यवसायीले सडकमै विभिन्न परिकारका खाना पस्कने हुँदा महोत्सवबाट समग्र पोखराको आर्थिक क्रियाकलापलाई टेवा पुग्ने उहाँले जानकारी दिनुभयो ।


बोर्ड पोखराका प्रमुख सूर्य थपलिया, रेबानका अध्यक्ष प्रमोदकुमार जैसवाललगायतले आन्तरिक तथा विदेशी पर्यटक आकर्षणका लागि महोत्सव उपयोगी हुने बताउनुभयो ।
महोत्सवलाई भव्य बनाउन रेबान पोखराका अध्यक्ष चौबहादुर गुरुङको संयोजकत्वमा २२ सदस्यीय महोत्सव व्यवस्थापन मूल समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सवको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गर्ने र मुख्य प्रायोजन गोर्खा बु्रअरी प्रालिले गर्ने बताइएको छ ।
महोत्सव रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराले यही पुस १३ गतेदेखि १७ गतेसम्म ५ दिनसम्म आयोजना गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार