धुलिखेलमा पर्यटकका लागि न्यू ईयर प्याकेज


धुलिखेलमा पर्यटकका लागि न्यू ईयर प्याकेज कार्यक्रम घोषणा गरिएको छ । पर्यटकीय आकर्षणको गन्तव्य धुलिखेलका होटलले आज सोमबारदेखि पर्यटकका लागि विशेष ‘प्याकेज कार्यक्रम’ घोषणा गरेका हुन् ।
क्षेत्रीय होटल संघ (हान) धुलिखेलले ‘क्रिसमस डे’ को अवसरमा अंग्रेजी नयाँ वर्षका लागि पर्यटन सूचना केन्द्रको स्थापना गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकका लागि खानामा १५ प्रतिशत र आवासमा ३० प्रतिशत छुटको प्याकेज कार्यक्रम घोषणा गरेको छ ।


“आन्तरिक तथा बाह्य पर्यटकलाई सहुलियतमा धुलिखेलमा आवास र खाना उपलब्ध हुनेछ,” क्षेत्रीय होटल संघ (हान) का अध्यक्ष तथा धुलिखेल लज रिसोर्टका सञ्चालक प्रेमकण्ठ माकाजु श्रेष्ठले भन्नुभयो । आन्तरिक पर्यटक एक दम्पत्तिका लागि १५ हजारमा उपलब्ध हुने ‘कक्टेल डिनर’ अब नौ हजारमा उपलब्ध हुनेछ भने बाह्य पर्यटकका लागि ३० प्रतिशत छुट दिइनेछ । पन्ध्र सयमा पाइने खाना ८०० मा उपलब्ध हुने श्रेष्ठ जानकारी दिनुभयो ।


अंग्रेजी नयाँ वर्षका अवसरमा धुलिखेलमा विभिन्न कार्यक्रम गर्ने तयारी समेत भइरहेको छ । पर्यटन सूचना केन्द्रमार्फत पर्यटकलाई आकर्षण गर्न श्रेष्ठको भनाइ छ । सूचना केन्द्र धुलिखेल नगरपालिका–७ मा स्थापना गरिएको छ । क्षेत्रीय होटल संघ (हान) धुलिखेलसँग आबद्ध भएका होटल धुलिखेलमा २५ र नगरकोटमा १० रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार