पर्यटकले १३ प्रतिशत मूल्य अभिबृद्धि कर थप तिर्नुपर्ने


राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पर्यटकलाई मूल्य अभिबृद्धि कर १३ प्रतिशत भ्याट थप गरी लिने व्यवस्था गरेको छ । उक्त निकायले ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखरालाई पत्राचार गरी यो विषयमा जानकारी गराएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको यहि पुष ७ गतेको मिति उल्लेखित पत्र  टान पश्चिमाञ्चल क्षेत्रिय संघ पोखरालाई  पत्राचार गरेको थियो । पत्रमा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ को अनुसूचि १ मा उल्लेखित दस्तुरहरुमा पुष ८ देखि मूल्य अभिबृद्धि कर (भ्याट) १३ प्रतिशत थप गरि लिने व्यवस्था गरिएको भनि उल्लेख गरिएको छ ।
मूल्य अभिबृद्धि कर (भ्याट) १३ प्रतिशत थप गरि लिने व्यवस्था गरेकोप्रति  टान पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  संघको ध्यानाकर्षण पत्रमा भनिएको छ ‘पर्यटन जस्तो अति संवेदनशील क्षेत्रसंग प्रत्यक्ष सरोकार राख्ने साथै सम्बन्धित निकाय र सरोकारवालाहरुसंग सम्बन्धित विषयमा छलफल, सहकार्य र योजना विना नै अत्यन्तै छोटो समयमा एतकर्फी तवरले गरिने यस्ता निर्णयहरुले समग्र पर्यटन क्षेत्रमा नै नकारात्मक प्रभाव पार्ने हुनाले सम्बन्धित निकायहरुलाई यस्ता प्रकृतिका निर्णय गर्नुपूर्व पूर्ववत छलफल, सहमति सहित सहकार्य गर्नुहुन अनुरोध छ ।’


टान पश्चिमाञ्चले ध्यानाकर्षण पत्रमार्फत प्रति पर्यटक प्रवेश आज्ञा रकम प्रति पर्यटक दुई हजारमा नै मूल्य अभिबृद्धि कर १३ प्रतिशत समायोजन गरी विभिन्न शिर्षकको नाउँमा रकम नबढाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
टान पश्चिमाञ्चलको ध्यानार्कषणबारे आफु सहमत भएको टान केन्द्रका अध्यक्ष नवराज दाहालले बताउनुभयो । अध्यक्ष दाहालले एकैचोटी यसरी १३ प्रतिशत भ्याट बढेर पूर्व सूचना विना आउनु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘१३ प्रतिशत भ्याट बढाएकोलाई पुर्न विचार गरियोस, झन सुविधा बढाएर मूल्य घटाउनुपर्ने ठाउँमा झन १३ प्रतिशत थपिनु हाम्रो लागि स्वीकार्य हुने कुरै भएन ।’ उहाँले यो विषयमा टान यथाशक्य छिटो डेलिगेशन जाने तयारीमा रहेको पनि जानकारी दिनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पर्यटकलाई १३ प्रतिशत भ्याट थप लिने कार्य यहि पुष ८ गतेदेखि नै कार्यान्वयन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार