हिमालमा युवाहरुको आकर्षण बढ्दै ।

खुम्जुङ ९ फोर्चेका फुर्वा ग्याल्जेन शेर्पाले २१ बर्षको उमेरमा नै ३ पटक सगरमाथा र २ पटक आमाडव्लम हिमालको सफल आरोहण गरेका छन् । सन २०१३ देखि हिमालमा काम गर्न थालेका शेर्पाले २०१४ र २०१५ मा हिमपहिरोका कारण आरोहण पुरा गर्न नपाएपनि अधिकाशंमा सफलता मिलेको बताउछ्न । १६ बर्षको कलिलो उमेरदेखि हिमालमा काम गर्न थालेका शेर्पासग टुरिजम न्युज अनलाईन डटकमले गरेको कुराकानी :

कति बर्षको उमेरदेखि हिमाल चढ्न थाल्नुभयो ?

मैले १६ बर्षको उमेरदेखि हिमाल चढ्न थाले । अहिले म २१ बर्षको भए । २०१३ मा पहिलो आरोहण गरेको थिए । त्यसयता २०१४ र २०१५ मा हिमपहिरोका कारण आरोहण भएन । २०१६ र २०१७ मा गरी ३ पटक सगरमाथाको सफल आरोहण गरेको छु ।

सानो उमेरमा नै हिमाल आरोहणको पेशालाई नै किन रोज्नुभयो ?

पहिला म स्कुल पढ्थे, ७ कक्षामा नै छोडिदिए । मेरो बुवा देखि लिएर सवै आफन्तहरु हिमालमा काम गर्नुहुन्थ्यो । मेरो गाउको प्राय सवै हिमाल चढ्ने गर्छन् । सवै जनाले हिमाल आरोहणमा रमाईलो हुन्छ यावत कुराहरु सुनाएपछि मलाई पनि हिमाल जाने रहर भयो । त्यसपछि मैले पनि बुवाको पेशामा लागे ।

एकै पटकमा कसरी आरोहण सफल भयो ? केही गाह्रो अप्ठयारो भएन ।

शुरु शुरुमा त्यति जानकारी थिए । त्यही भएर एक दुई चोटी त गाह्रो नै भयो । मौसम विग्रदा, खुम्बु आईसफल अलिक खतरा ठाउ त्यहा खर्पसहरुको डर हुन्छ । कुनै बेला ३/ बटा भर्याङहरु तर्नुपर्ने हुन्छ । समिट जाने बेला अल्टिच्युटले पनि गाह्रो हुन्छ । त्यही भएर शुरुमा निकै दुख नै भयो । त्यसपछि मैले तालिमहरु लिए । के.सी.सी फोर्चेको तालिम लिएपछि चाही केहि सजिलो भयो ।

आरोहणका बेला मुख्यतया के के कुरामा विशेष ख्याल गर्नुपर्छ ?

आरोहणमा सानो गल्तीले पनि ज्यानै जान सक्छ । यतिसम्म की एउटा पंजा नै भएन भने चिसोले केही समाउन सकिन्न । हात नै गुम्न पनि सक्छ । एउटा लाईट नै नभए पनि अध्यारोमा हिड्नुपर्छ अनि कति हजार मिटरसम्म कुन लुगा लगाउने भन्ने सवै तयारी गर्नुपर्छ । पुर्व तयारी विना आरोहण सफल नै हुदैन ।

पछिल्ला बर्षहरुमा पाका व्यक्तिहरु भन्दा युवाहरु बढी हिमालमा काम गर्छन किन ?

पहिले भन्दा अहिले युवाहरु नै बढी हिमालमा जान्छ । फोर्चेको ८५ घरधुरीका ७० जना त हिमालमा काम गर्छन । एक त पारिवारीक समस्याले नै हो । अर्को चाही पारिवारी घमण्ड, जस्तो की एउटा घरको ३ जनाले हिमालमा काम गर्छ भने उसको कमाई पनि बढी हुन्छ अनि सान पनि । त्यही भएर देखासेखीले गर्दा पनि फोर्चेका अधिकाशं घरका पुरुषहरु हिमालमा नै जान्छन् । निकै पाको व्यक्तिहरु र महिलाहरु मात्र गाउमा भेटिन्छ ।

हिमालमा आरोहण सहयोगीको रुपमा जानुहुन्छ ? धेरैलाई हिमाल चढाउनुहुन्छ । तर हिमाल चढेको प्रमाण त हुन्न नी तपाईहरुसग ।

पहिले पहिले हिमाल चढेपछि प्रमाणपत्र पाईन्थ्यो । अहिले त्यो पनि पाईदैन । त्यसमा हामी निकै दुखी छौं । किन भने जुनसुकै काममा पनि कतिको अनुभवी हो भनेर जान्ने पहिलो आधार नै प्रमाणपत्र हो । त्यसैले प्रमाणपत्र नै भएन भने हामीलाई आफ्नो प्रोपाईल बनाउन समस्या हुन्छ । राम्रो प्रोफाईल भएन भने कम्पनीहरुले विश्वास पनि गर्दैन । जसको प्रोफाईल राम्रो हुन्छ त्यस्ता व्यक्तिहरुले सधै काम पाउछ र कमाई पनि राम्रै हुन्छ । प्रमाणपत्र नदिदा हामी आरोहण सहयोगी निकै मारमा पर्छौं । त्यसैले हामीले जसरी हिमाल चढाएर नेपाल र नेपालीको शिर ठाडो भएको छ । ईतिहास रचेका छौं, हाम्रो पनि मान मर्यादामा सरकारले ठेस पुर्याउन हुन्न भन्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार