तमू ल्होछारको अवसरमा सात पत्रकार परस्कृत


काठमाडौ । तमू ल्होछारको अवसरमा तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपाल (एटजोन) ले  विभिन्न सात पत्रकारलाई पुरस्कृत गरेको छ ।
ल्होछारको अवसरमा बिहीबार (आज)आयोजित कार्यक्रममा एबीसी टेलिभिजनका समाचार संयोजक डण्ड गुरुङ तथा नागरिक दैनिकका बरिष्ठ संवाददाता अमृत भादगाउँलेलाई पूर्व प्रधानसेनापति छत्रमानसिंह तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जनही २० हजार नगदसहित ताम्रपत्र रहेको पुरुस्कार पूर्व प्रधानसेनापति छत्रमानसिंह तथा श्रीमती कमला गुरुङले प्रदान गर्नुभयो ।
महिला खवर अनलाइनका सम्पादक प्रेमकुमारी घलेलाई सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कार, रेडियो जलजला, रोल्पाका समाचार प्रमुख देविका गुरुङलाई लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार, तमु पत्रकारिता पुरस्कार पोखराका स्वतन्त्र फोटो पत्रकार राम गुरुङ र गुरुङ आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका स्याङ्जा संवाददाता मोहन गुरुङलाई प्रदान गरिएको छ । पुरस्कार जनही १० हजार नगद तथा ताम्रपत्र रहेको छ ।
यसैगरी पाँच हजार नगद तथा ताम्रपत्र रहेको सिआइ टेकबहादुर गुरुङ पत्रकारिता पुरस्कार रुपन्देहीबाट प्रकाशित हुने देवदाहा साप्ताहिकका सम्पादक रामबहादुर गुरुङलाई प्रदान गरियो ।
कार्यक्रममा एटजोनले प्रकाशन गर्ने गुरुङ न्यूज डटकम नामक बार्षिक समिक्षा पुस्तकको पनि विमोचन गरिएको थियो । पुस्तकमा बर्षभरीमा गुरुङ समुदायका सफलता प्राप्त गरेका व्यक्तित्वहरु, भए गरेका कामहरुको समिक्षा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार