पर्यटकको पर्खाईमा गुफाको डाँडो

म्याग्दीको बेनी नगरपालिका ५ गाजनेमा पर्ने निक्कै आकर्षक, मनमोहक सुन्दर दृश्य देख्न सकिने गुफाको डाँडो पर्यटकको पखाईमा रहेको छ । प¥याप्त पर्यकीय संभावना बोकेको गुफाने डाँडा भौतिक पूर्वाधार तथा प्रचारप्रसारको अभावमा ओभेलमा परेको हो ।
उत्कृष्ट पर्यटकीयस्थल बन्नसक्ने उक्त गुफाको डाँडा रमणीय एवं पर्यटकीयस्थलका रुपमा चिनिए पनि गुफाको डाँडोमा विकासका पूर्वाधारले ठाउँ पाउन सकेको छैन । गुफाको डिलका नामले समेत चिनिएको उक्त डाँडो पर्यटकका लागि निक्कै आकर्षकस्थलका रुपमा अवस्थित छ । पर्यटकीय ऐतिहासिक स्थल भएपनि यातायातको असहजता र उपयुक्त पदमार्ग नहुँदा गुफाको डाँडो ओझेलमा परेको स्थानीयवासीको भनाई छ ।
नेपालमा बाइसे–चौबीसे राज्यका पालामा गाजने गाउँमा १४औँ शताब्दीताका तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब)ले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको किंवदन्ती रहेको स्थानीय जनकल्याण माविका शिक्षक शिव बानियाँले जानकारी दिनुभयो ।
जगन्नाथ मन्दिरको छुट्टै महत्व र विशेषता तथा गुफाको डाँडोमा तीनवटा हेलिकप्टर अट्नसक्ने हेलिप्याडसमेत रहेको छ । म्याग्दी सदरमुकाम बेनी बजारदेखि तीन घण्टाको पैदल दूरीमा रहेको गुफाको डाँडा समुन्द्री सतहदेखि झण्डै दुई हजार दुई सय मिटरको उचाइबाट माघ, फागुन र चैत महिनामा ढकमक्क फूलेको लालीगुराँसको दृश्य देख्न पाइन्छ ।
वनजंगलको नजिकै रहेकाले गुफाको डाँडोमा जुनसुकै समयमा पनि वनभोज खानलाई जान सकिन्छ । लालीगुराँसको सुगन्ध लिँदै धौलागिरि, अन्नपूर्णलगायतका हिमाललाई पृष्ठभूमिमा पारेर मोबाइलमा सेल्फी खिचेर रमाउन सकिने गुफाको डिलबाट देखिने हिमाल र आकाशको दृश्य धर्तीसँग जोडिन लागेको क्षितिज जस्तो देखिन्छ । प्रसिद्ध जगन्नाथ मन्दिरमा जाने भक्तजन गुफाको डाँडोमा पुग्ने गरेका छन् । मन्दिरदेखि नजिकै रहेको डाँडोमा पुग्दा थकाइ मेटिनुका साथै रमाइलो र आनन्दको अनुभूति भएको बेनीबाट जगन्नाथ मन्दिरको दर्शन र गुफाको डिल हेर्न त्यहाँ पुग्नुभएका स्थानीय व्यापारी एवं यातायात व्यवसायी सुमन श्रेष्ठले बताउनुभयो ।
त्यस क्षेत्रमा अवस्थित प्रसिद्ध गलेश्वर मन्दिर, पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीयस्थल टोड्के पुग्ने पदमार्ग निर्माण गर्नसकेमा पनि धार्मिक पर्यटक बढ्नुका साथै स्थानीयको दैनिकीमा समेत परिवर्तन आउने प्रशस्तै सम्भावना रहेका छन् । ओझेलमा परेको जगन्नाथ र गुफाको डाँडोलाई धार्मिक र पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन स्थानीयले पूर्वाधार विकास तथा प्रचारप्रसारलाई तित्र्र बनाउनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार