हिमताललाई चिनाउन नयाँ पदयात्रा मार्ग खोलिँदै

पोखरा । होचो स्थानमा रहेको कास्कीको कफुचे हिम ताललाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउन नयाँ पदयात्रा मार्ग सञ्चालनको तयारी अघि बढाइएको छ ।
केहि वर्ष यता चर्चामा आउन थालेको यो ताल जिल्लाको मादी गाउँपालिका–१ स्थित समुद्री सतहबाट २४५० मिटरको उचाइमा अवस्थित छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले उक्त तालको प्रवद्र्धनका लागि नयाँ पदमार्ग खोल्न हालै एक खोज तथा अनुसन्धान अभियान सञ्चालन गरेको थियो ।
बीचबाट आउने हिमपहिरोबाट बनेको यो हिमतालले पर्यटनको प्रसस्तै सम्भावना बोकेको भन्दै खोज तथा अनुसन्धान अघि बढाइएको टान पश्चिमाञ्चल संघका अध्यक्ष दीपकराज अधिकारीले जानकारी दिनुभयो ।
पोखरा लेखनाथ महानगरपालिकाको दीपबाट पदयात्रा शुरु गरी कास्कीकै अर्मला, आँटीघर मौजा, थाक, तारा हिल, सिक्लेस, हुगु हुँदै कफुचे पुग्ने यो मार्ग कम्तीमा एक साता लामो हुन्छ ।
पदयात्रा मार्गमा पर्ने गाउँ, पानीका स्रोत, भञ्ज्याङ लगायतलाई समेटेको नक्सा बनाउन जिपिएससहितको एक टोलीसमेत खटिएको छ । केहि महिनाभित्र उक्त मार्गको नक्सा र ब्रोसर निर्माण गरी मार्ग सञ्चालनको क्रम अगाडि बढाइने टान पोखराका पूर्व सचिव एवं खोज तथा अनुसन्धान अभियानका संयोजक विनय आचार्यले जानकारी दिनुभयो ।
पदयात्रा मार्गको अधिकांश भाग अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ । गुरुङ संस्कृतिको अवलोकन, हरियाली जंगल, लामो हिमाली शृङ्खलाको दृष्य, कोटहरु, चरा अवलोकन, विभिन्न जंगली जनावरको अवलोकन गर्दै होचो स्थानमा हिमताल र त्यहाँ आउने हिमपहिरो हेर्न पाउनु यो मार्गको विशेषता हो ।
केम्पिङ र होमस्टेमा आधारित यो पदयात्रा मार्गलाई १० दिनमा विस्तार गरी मादी गाउँपालिकामा रहेको हुगुबाट कोरी, थुर्जु, दूधपोखरी हुँदै नामून पासबाट मनाङ जिल्ला निकाल्ने योजना रहेको पर्यटन व्यवसायी बताउँछन् ।
पदयात्रा मार्गहरु सडक मार्गको चपेटामा पर्न थालेपछि वैकल्पिक मार्गका रुपमा यो मार्ग सञ्चालनको तयारी थालिएको टान पोखराले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार