पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते हुने 

पोखरामा पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । १२औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ७ गते हुने भएको हो ।
भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने धावकले क्रमशः ७० हजार, ४५ हजार र ३० हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै १० किलोमिटर पुरुष र महिला दौड पनि आयोजना गरिनेछ । उक्त प्रतियोगितामा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोलाई पाँच हजार तथा पाँच किलोमिटर छात्रछात्रा दौडमा पहिलो हुनेलाई १० हजार, दोस्रो हुनेलाई सात हजार र तेस्रो हुनेले चार हजार नगद पुरस्कार पाउनेछन् ।
यसरी नै ४ हजार मीटर ह्विल चियर पुरुष तथा महिलामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिनेछ । यो पटक सय मीटर दृष्टिविहीन दौड पनि आयोजना गरिने भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न १७ लाख ३९ हजार खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि नेपाल एडभेन्चर स्पोट्र्स प्रालि र स्थानीयस्तरमा ट्रेनर नेपालले सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार