घलेभञ्ज्याङ पर्यटकीय गन्तब्य बन्दै

नुवाकोट । पञ्चकन्या गाउँपालिका–३ स्थित घलेभञ्ज्याङले पर्यटकीय गन्तब्यको रुप लिंदैं गएको छ । राजधानी काठमाडौंबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानबाट विभिन्न हिमालका साथै मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटनको राम्रो विकास हुन थालेको हो । समुद्री सतहदेखि एक हजार सात सय मिटर उचाईमा रहेको उक्त स्थानबाट राउचुली, लाङटाङ, लाङटाङ री, पुमरी, दोर्जे लाक्पा हिमाललाई नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ ।
निकै उचाईमा यो स्थानबाट धादिङ, गोर्खा, रसुवा, सिन्धुपाल्चोक लगायतका स्थान देख्न सकिन्छ । विभिन्न चराचुरुङ्गीको आवत–जावत हुने त्यस आसपास क्षेत्रमा पूर्वाधारको विकासका लागि भने लगानी गर्नुपर्ने आवश्यकता देखिएको छ ।
पञ्चकन्या गाउँपालिकाका वडाध्यक्ष राम थापाका अनुसार पर्यटन क्षेत्रको विकासका लागि पर्याप्त अवसर रहेको हुँदा स्थानीय तहले प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरी यातायातको विकास तथा भौतिक पूर्वाधारको संरचना तयार गर्नुपर्ने बताउनुभयो ।
काठमाडौँको नयाँ बसपार्क गोँगवुबाट मानेभञ्ज्याङसम्म सार्वजनिक बस सेवा सञ्चालन हुने गरेको भए पनि स्थानीय छहरेबाट अगाडि बढेपछि कच्ची सडक हुँदै करिब २० किलोमिटर माथिसम्म जानपर्ने बाध्यता छ ।
स्थानीय कुण्डला उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापाका अनुसार पहिले तत्कालीन तिब्बतसँग आर्थिक कारोबार गरिँदै आएको मानेभञ्ज्याङ पुरानो व्यापारिक नाकाका रुपमा त्यसै क्षेत्रमा अवस्थित छ । बिजुली बत्तीको समस्या नरहेको त्यस क्षेत्रमा घले जातिको उल्लेख्य बसोबास रहेको घले गाउँ छ ।
पञ्चकन्या गाउँपालिकामा करिब पैंतीस सय जनसंख्या रहेको छ । चामल, कोदो, मकै, अदुवाको उत्पादन हुने उक्त क्षेत्रमा ‘होम स्टे’ का लागि पनि प्रयत्न भइरहेको छ । त्यति अग्लो क्षेत्रमा भएका टारी खेतमा फल्ने स्थानीय चामल अर्को विशेषताका रुपमा रहेको छ ।
सरोकारवालााहरुले प्रचार–प्रसार गर्न सकेमा यस क्षेत्रले विशेष महत्व प्राप्त गर्ने स्थानीयवासीको भनाइ छ । सामान्य खाजाघर सञ्चालन गर्दै आएको घलेगाउँमा क्रमिक रुपमा पर्यटन विकास हुँदै जाँदा आवासीय होटल तथा रेस्टुरेन्ट स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ ।
डाँडामा भ्यू प्वाइन्ट निर्माण गरेमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न बल पुग्ने स्थानीय टेकबहादुर भण्डारीले बताउनुभयो । पञ्चकन्या मन्दिर, कालिका मन्दिरमा विभिन्न समयमा लाग्ने जात्रा पर्व त्यहाँको अर्को रमाइलो पक्ष हो । नुवाकोटको दरबार क्षेत्र पनि यहाँबाट देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार