अध्यागमन केन्द्र अपायक हुँदा बाह्य पर्यटकलाई समस्या


ईलामको पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या हुने गरेको छ । भारतसँगको मुख्य नाका ईलामस्थित पशुपतिनगरमा पर्यटकले लिनुपर्ने पर्यटक अनुमतिपत्र यहाँबाट प्रदान नगरिँदा बाह्य पर्यटकलाई समस्या भएको हो ।
सो नाका हुँदै बंगलादेशलगायत अन्य देशबाट नेपाल भित्रिने पर्यटकलाई अनुमति लिनका लागि झापाको काँकडभित्ता नै पुग्नुपर्ने बाध्यता छ । भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि यो अनुमति नचाहिने भए पनि अन्य मुलुकबाट आउने पर्यटकले अनुमतिपत्र लिनुपर्ने हुन्छ ।
ईलाममा अझ बढी पर्यटक भित्रिने संभावना भए पनि काँकडभित्ता पुग्नुपर्ने बाध्यताका कारण पशुपतिनगरबाट नेपालका पूर्वी क्षेत्र आउने सबै पर्यटक ईलाम आइपुग्दैनन् । पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा नेपाली तथा भारतीय पर्यटन व्यवसायीलाई नै समस्या भएको उनीहरु बताउँछन् ।


पर्यटकीय जिल्ला ईलाममा आन्तरिक तथा बाह्य पर्यटक उल्लेख्य मात्रामा आउने गर्छन् । तर भारतको सिलिगुडी, दार्जिलिङ लगायतबाट पशुपतिनगर हुँदै ईलामको पूर्वी क्षेत्र भित्रिने पर्यटकले सानो कामका लागि पनि झापाको काँकडभित्ता नै जानुपर्ने बाध्यता छ ।
कति पर्यटक त समस्या बुझेपछि पशुपतिनगरबाट ईलाम नै नछिरी त्यहाँबाट नै फर्कने गरेको पर्यटन व्यवसायी बताउँछन् ।
सिलिगुडीबाट बंगाली पर्यटक लिएर नेपाल आउनुभएका पर्यटन व्यवसायी विनोद गुप्ताले यस्तो समस्यालाई चाँडै समाधान गर्नुपर्ने बताउनुभयो ।
भारततर्फको फाटकमा भारतीय पक्षबाट कार्यालय स्थापना गर्न पहल गरे पनि नेपालको पशुपतिनगरतर्फ नेपाल सरकारले कुनै प्रक्रिया अघि नबढाएको गुप्ताले बताउनुभयो ।
पशुपतिनगरबाट पर्यटक आवागमन गर्ने अनुमति प्राप्त हुन सके जिल्लामा पर्यटकको ओइरो लाग्ने पर्यटन व्यवसायी तथा होटल एशोसिएसन ईलामका अध्यक्ष देवी पौडेलले बताउनुभयो । उहाँले आफुहरुले धेरैपटक यो विषयलाई नेपाल सरकारसमक्ष पु¥याए पनि सुनुवाई नभएको बताउनुभयो । छिटोभन्दा छिटो पशुपतिनगर नाकामा आप्रवासन केन्द्र स्थापना गरिनुपर्ने ईलामका पर्यटन व्यवसायीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार