३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने ।

‘वुमन एभरेष्ट एक्पिडिसन २०१८’ नाम दिएर महिला आत्मनिर्भरताका लागि पर्वतारोहण भन्ने नारासहित ३ जना महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन्। लाक्पा याङ्जी शेर्पा, याङ्डी शेर्पा र पासाङ ल्हामु शेर्पाले यही अप्रिल ७ देखि सगरमाथा आरोहण गर्न लागेका हुन्।

वैदेशिक रोजगारीबाट फर्किएका पीडित महिला, दलित महिला र एकल महिलाहरुलाई सहयोग गर्ने उद्देश्यका साथ ३ जनाको समूह सगरमाथा आरोहण गर्न लागेको सो दलका नेतृ लाक्पा याङ्जी शेर्पाले जानकारी दिइन्। ‘महिलालाई पर्यटन क्षेत्रतर्फ आकर्षण गराउनको लागि पनि हामीले सगरमाथा आरोहण गर्न लागेका हौँ,’ लाक्पा याङ्जी शेर्पाले भनिन्, ‘घरेलु कामदारका रुपमा विदेश गएका महिलाहरुलाई नेपालमा नै पर्यटन व्यवसाय गरेर अर्थोपार्जन गर्न सकिन्छ भन्ने उदाहरणको दिनको लागि पनि हामीले यो कदम चालेका हौँ।’

पीडित महिला, दलित लगायतलाई आर्थिक सहयोग गर्नका साथै महिलाहरुले सगरमाथा आरोहण गर्न सक्छन् र गाइडको रुपमा काम गर्न सक्छन् भन्ने सन्देश लिएर यो समूहले सगरमाथा आरोहण गर्न लागेको हो।

सो समूहले अप्रिल ७ मा सगरमाथा आरोहण थाल्ने यो समुहले मे १८ मा सम्पन्न गरिसक्ने योजना बनाएको छ।

सगरमाथा आरोहण गर्ने तीनै जना महिला शेर्पा समुदायका हुन्। उनीहरु सबै जना लामो समय देखि ट्रेकिङ व्यवसायमा लागि परेका छन्। समूहकी नेतृ लाक्पा याङ्जी शेर्पाले विगत १० वर्षदेखि ट्रेकिङ क्षेत्रमा काम गर्दै आएकी छिन्। ५ हजार ९ सय ३० मिटर अग्लो राम्दुङ पिक, ६ हजार ९२ मिटर अग्लो पिसाङ पिक, ६ हजार १ यस ८९ मिटर अग्लो आइसल्याण्ड पिक, र ६ हजार ५९ अग्लो चुलु फार इष्ट पिक उनले आरोहण गरिसकेकी छिन्।

यो समूहले सगरमाथा आरोहणका लागि आवश्यक सबै कार्य सम्पन्न गरिसकेको शेर्पाले जानकारी दिइन्। समुहकी अर्की आरोही याङ्डी शेर्पा पनि ५ वर्ष देखि ट्रेकिङ पेसामा आवद्ध छिन्। उनले ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिक, आइइसल्याण्ड पिक, रामदुङ पीक र ६ हजार १ सय १९ मिटर अग्लो लबुचे पिक आरोहण गरिसकेकी छिन्।

तीन जना महिलाहरुको यो समूहमा रहेकी पासाङ ल्हामु शेर्पा ट्रेकिङ पेसा लामो अनुभव बटुलेकी महिला मध्यकी एक हुन्। उनले आफ्नो जीवनको १३ वर्ष यही पेशामा बिताइसकेकी छिन्। उनले पनि लाक्पा याङ्जी शेर्पा र याङ्डी शेर्पाले जस्तै मेरा पिक, आइसल्याण्ड पिक र लबुचे पिक सफलतापूर्वक आरोहण गरिसकेकी छिन्।

यो समूहले एसेन्ट हिमालयन ट्रेक एण्ड एक्स्पिडिसन कम्पनीबाट आरोहण गर्न लागेका हुन्। समूहका लागि एचआरएले निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल, नेपाल नेसनल माउन्टेन गाइड एसोसियसन र नेपाल माउन्टेनेरिङ इन्स्ट्रक्टर एसोसियसनको सहयोग गरेका छन्। टानका अध्यक्ष नवराज दाहाल भन्छन्, ‘महिलाहरुलाई पर्यटन क्षेत्रमा आवध्ध गराउका लागि हामीले पनि सहयोग गरेका हौँ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार