ताङतिङ, करापुडाँडा र याङ्जाकोट होमस्टे ट्रेल अन्वेषण भ्रमण शुरु


गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं ४ को संयोजनमा कास्कीमा ताङतिङ, करापुडाँडा र याङ्जाकोट होमस्टे ट्रेल अन्वेषण भ्रमण शुरु गरिएको छ । घरबास सञ्चालन भएको ताङतिङ गाउँबाट करापुडाँडा हुँदै याङ्जाकोट जोड्ने पदमार्गको प्रवद्र्धन एवं विकासका लागि तीन दिने भ्रमण शुरु गरिएको हो ।
भिटोफको केन्द्र एवं प्रदेशका सक्रिय सदस्य, पर्यटन संचारकर्मी एवं पर्यटन व्यवसायीहरुको प्रतिनिधित्व गराउँदै उक्त क्षेत्रको अन्वेषण भ्रमण शुरु गरिएको हो ।
पदयात्रा र घरबास पर्यटन एक अर्कामा प्रत्यक्ष अन्तरसम्बन्धित भएकाले दुवैलाई एक साथ अघि बढाउन भिटोफले ‘घरबास–पदयात्रा’ पर्यटनको अवधारणा अघि बढाएको भिटोफ प्रदेश नं ४ का अध्यक्ष रवीन्द्रराज पौडेलले बताउनुभयो ।
पदमार्ग छोटिँदै गएका अवस्थामा घरबास सञ्चालन भएको एक ठाउँबाट अर्को ठाउँमा पर्यटकलाई पदयात्रासहित खाना तथा आवासको सुविधा उपलब्ध गराउन सकिने भएका कारण यो अभियानको शुरुवात गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
कास्कीको मादी गाउँपालिकामा पर्ने पर्यटकीय ताङतिङ गाउँ र याङ्जाकोटलाई करापुडाँडा हुँदै जोड्ने कार्यले यस क्षेत्रको पर्यटकीय सम्भाव्यतालाई थप उजागर गर्ने मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले बताउनुभयो ।
यस अभियानको सफलताका लागि गाउँपालिका सक्रिय भएर लाग्ने उहाँले बताउनुभयो । प्रचारप्रसार एवं पूर्वाधार अभावका कारण नेपालका धेरै पर्यटकीय गाउँ विकासका दृष्टिले अझै ओझेलमा परेको भिटोफका सल्लाहकार डा प्रेम शर्माले बताउनुभयो ।
भिटोफ प्रदेश नं ४ का पूर्वअध्यक्ष तारानाथ पहारीले भिटोफकै पहलमा धेरै पर्यटकीय गाउँमा घरबास कार्यक्रम सञ्चालन भएको बताउँनुहुँदै घरबास सञ्चालन भएका एक ठाउँबाट अर्को ठाउँलाई पदमार्गमार्फत जोड्ने अभियानले गाउँमा आर्थिक समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
मादी गाउँपालिका–२ का अध्यक्ष एकजंग गुरुङले प्रकृति र संस्कृतिलाई जोड्न सकेमात्र पनि यहाँका धेरै गाउँहरुले विकासमा फड्को मार्ने बताउनुभयो । पोखरा हुँदै ताङतिङबाट शुरु भएको पदमार्ग अन्वेषण भ्रमण करापुडाँडा हुँदै याङ्जाकोटमा गएर समापन गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार